काठमाडौं, असार १० गते। आगामी आर्थिक वर्षका छ महानगरले ५१ अर्ब ९९ करोड बजेट प्रस्तुत गरेका छन्। सबैभन्दा बढी काठमाडौं महानगरको २५ अर्ब ५४ करोड रुपियाँ छ। यस्तै भरतपुर महनगरको छ अर्ब ३१ करोड रुपियाँ, पोखरा महानगरको सात अर्ब १५ करोड (अनुमानित) रुपियाँ, ललितपुर महानगरको छ अर्ब ५० लाख रुपियाँ, वीरगञ्ज महानगरको तीन अर्ब २१ करोड रुपियाँ र विराटनगरको तीन अर्ब २८ करोड रुपियाँ छ । पोखरा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ बजेट भने आइसकेको छैन। 
काठमाडौं महानगरको २५ अर्ब ५४ करोड
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ ।
आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डंगोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रहेको छ। 
काठमाडौं महानगरले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख बजेट विनियोजन गरेको थियो । चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोडले बढी हो। 
बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता दिइएको छ। पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ।   
बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषय समेटिएका छन् । कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड  विनियोजन गरेको छ।
भरतपुर महानगरमा छ अर्ब ३१ करोड बजेट
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
भरतपुरमा आइतबार महानगरपालिकाको १३ औं नगरसभाको अवसरमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको आधारमा केन्द्रित रहेर उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गर्नुभएको हो।
प्रस्तुत बजेट अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपियाँले बढी हो । चालु आर्थिक वर्षका लागि पुरकसमेत गरी छ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपियाँको बजेट विनियोजन गरिएको थियो ।
ललितपुर महानगरको बजेट छ अर्ब ५० करोड  
ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि छ अर्ब ५० करोड बराबरको बजेट प्रस्तुत गरेको छ।
आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले छ अर्ब ५० करोड पाँच लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । 
साढे ६ अर्बको बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालूतर्फ दुई अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ । 
ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ।
विराटनगरको बजेट तीन अर्ब २८ करोड
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ। विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट आइतबार नगर सभामा प्रस्तुत गर्नुभयो ।
महानगरले चालू खर्चतर्फ एक अर्ब ५९ करोड ८३ लाख २५ हजार, पुँजीगततर्फ एक अर्ब ७१ करोड ६६ लाख ७५ हजार  अनुमानित बजेट छुट्याएको छ।
महानगरले वित्तीय समानीकरण सङ्घीय सरकार ३४ करोड, प्रदेश सरकार दुई करोड ४० लाख ८८ हजार,  राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर र अन्तःशुल्क  २० करोड ७४ लाख, घरजग्गा रजिस्ट्रेसन दस्तुर ५५ करोड, सवारीसाधन कर ४ करोड ८ लाख ५६ हजार, मनोरञ्जन कर ४१ लाख आम्दानी गर्ने अनुमान गरिएको छ। 
वीरगञ्ज महानगरमा तीन अर्ब २१ करोड 
वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपियाँको बजेट ल्याएको छ। बिहीबार महानगरपालिकाको १३ औँ नगर अधिवेशमा उपमेयर इम्तियाज आलमले आर्थिक वर्ष २०८० र ८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो।
‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित उपमेयर आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिनुभयो।
उहाँका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपियाँ छुट्याइएको छ।
पोखरा महानगरमा सात अर्ब १५ करोडको बजेट अनुमान  
पोखरा महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात अर्ब १५ करोडको बजेट ल्याउने तयारी गरेको छ। नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ। नीति तथा कार्यक्रम अनुसार नै महानगरले सात अर्ब १५ करोड हाराहारीमा बजेट आउने अनुमान गरिएको छ।
 
                                
                             
                                                 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                