काठमाडौं, असार १० गते। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ।
कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो। चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोडले बढी हो।
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ।
बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले समेटिएका छन्। आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।
कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो।
वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि एक अर्ब ७६ करोड विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरिएको छ।
बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ। रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जब लिङ्क एप’ प्रयोगमा ल्याएन बजेटमा उल्लेख छ।
बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्स पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ।
साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि ५० करोड बजेट विनियोजन गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी काम गरिनेछ।
महानगरले महानगर टेलिभिजन स्थापनाका लागि ५ करोड छुट्याएको छ। महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य सहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ। यसका लागि २० करोड बजेट विनियोजन गरिएको छ।
महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
साथै युवा जनशक्तिलाई ‘श्रम बैङ्क’ स्वर्णिम योजनामा आबद्ध गराइ सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड बजेट विनियोजन गरिएको छ।
साथै कर्मचारीहरूको सुनौलो अवकाश योजना कार्यान्वयनका लागि १० करोड बजेट विनियोजन गरिएको छ। रासस  
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                