• ११ असार २०८१, मङ्गलबार

वीरगन्ज महानगरको बजेट तीन अर्ब एक्काइस करोड

blog

दीपकप्रसाद गौतम

वीरगन्ज, असार ७ गते । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ । 

उपप्रमुख इम्तियाज आलमले बुधबार नगर सभाको १३ औँ अधिवेशनमा उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । 

कुल बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपियाँ अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपियाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार अर्थात् एक प्रतिशत बजेट छुट्याएको छ । 

बजेटमा आगामी वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपियाँ विनियोजन गरिएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयम्सेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपियाँ छुट्याइएको छ ।  

यस्तै लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न औषधी छर्किने अभियानका लागि ३५ लाख रुपियाँ विनियोजन भएको छ ।   

महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजस्व बाँडफाँट २१ करोड १२ लाख रुपियाँ, ससर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ । सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपियाँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट चार करोड ४५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख र आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपियाँको अनुमान गरिएको छ । 

नगर सभाको १२ औँ अधिवेशनले चालु आवका लागि तीन अर्ब ३३ करोड ६३ लाख दुई हजार बराबरको बजेट ल्याएको थियो । आगामी आवका लागि भने बजेट घटेर आएको हो ।