• १६ वैशाख २०८३, बुधबार

हम्पाल क्षेत्रमा कालञ्जर महायज्ञ

blog

पूजा गरेर महायज्ञको प्रारम्भ गर्नुहुँदै स्वामी कमलनयनाचार्य । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १६ गते । पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ सुरु भएको छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा महायज्ञ सुरु गरिएको हो ।

मङ्गलबारदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म चल्ने छ । महायज्ञको प्रमुख वाचकको रूपमा स्वामी कमलनयनाचार्यका अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनुभएको छ ।

कालाञ्जर क्षेत्र धार्मिक धरोहर तथा पवित्र पितृतीर्थ पनि भएकाले यसलाई साधना भूमिका रूपमा विकास गर्ने, प्रचार–प्रसार गर्ने, सामाजिक र आध्यात्मिक चेतना जगाउने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले एक सय ८ श्रीमद भागवत कालाञ्जर महायज्ञ सुरु गरिएको महायज्ञका मूलवाचक पण्डित सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महायज्ञमा कथा वाचन, एक सय ८ श्रीमद्भागवत पाठपारायण, विभिन्न धार्मिक अनुष्ठान, भजनकीर्तन, यज्ञ हवन, गुरुजन, सन्त, अतिथीको सेवा र सम्मान, रुद्रभिषेक, पूजाअर्चना कार्यक्रम रहेको महायज्ञ आयोजक समिति सदस्य जगन्नाथ आचार्यले जानकारी दिनुभयो । 

स्वामी कमलनयनाचार्यको सक्रियतामा समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन विभिन्न योजना सञ्चालनमा छन् । पञ्चकोटका परिकल्पनाकार समेत रहनुभएका कमलनयनाचार्य अगुवाइमा कालञ्चरमा चार वर्षअघिदेखि महायज्ञ हुँदै आएको छ ।