काठमाडौँ, वैशाख १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन हुने बताउनुभएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले छानबिन प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभएको हो । गुरुङ आफैँले आफूमाथि छानबिनको माग गरेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । यद्यपि, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने जानकारी तपाईँहरूले पाइहाल्नुहुन्छ । उहाँले अहिले नैतिकता देखाएर आफूमाथि प्रश्न उठेकाले छानबिन गरियोस् भन्नुभएको छ । त्यसैले चाँडै प्रक्रिया अघि बढ्छ ।”
विवादित व्यवसायी दीपक भट्टसँग अनुचित कारोबारको आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।