• १६ वैशाख २०८३, बुधबार

कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित, पूर्णबहादुर खड्काको फाइल तामेलीमा

blog

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्णबहादुर तामाङ (कान्छाराम)।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ । 

ललितपुरको विपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको समितिका संयोजक तारामान गुरुङको अध्यक्षताको बैठकले तामाङलाई अनुशासन उल्लङ्घनको कसुरमा अनुसन्धान नसकिउन्जेलसम्मका लागि सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टी नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा तामाङलाई वैशाख ७ गते स्पष्टीकरण सोधिएको थियो । उहाँले आफ्नो स्पष्टीकरणमा त्यस्तो अभिप्राय नरहेको बताए पनि समितिले उक्त जवाफलाई प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको ठहर गरेको छ । 

तामाङलाई सभापति पदमा कायम राख्दा अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (८) (ङ) र नियमावली २०७६ को नियम २८ (३) बमोजिम आजैका मितिदेखि कामकाज गर्न नपाउने गरी कारबाही गरिएको हो ।

यसैगरी, अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भने सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ । गत वैशाख २ गते खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिए तापनि वैशाख ४ गते सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलापश्चात् उक्त स्पष्टीकरणको औचित्य समाप्त भएकाले सो निर्णय प्रक्रियालाई तत्कालका लागि तामेलीमा राखिएको समितिले जनाएको छ ।

बैठकले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमाथि पनि छानबिन तीव्र बनाउने निर्णय गरेको छ । 

निर्वाचनका क्रममा भएका अनुशासन उल्लङ्घनका उजुरीहरूको वर्गीकरण कार्य सम्पन्न भइसकेकाले आरोप लागेका व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण माग गरिने भएको छ । उक्त स्पष्टीकरणका लागि ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक तथा कुरियरजस्ता छिटो माध्यमबाट पत्राचार गर्ने निर्णय भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।