• १ वैशाख २०८१, शनिबार

रसुवामा चिज उत्पादन घट्दो

blog

रसुवा, जेठ २३ गते  । “चिजभाइ ! एक टुक्रा चिज देऊ त कस्तो छ चाखौँ,” बिहान कार्यालय खोलेदेखि बन्द नहुँदासम्म रसुवाको चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रका चिजभाइलाई केटाकेटीदेखि बुचिज चाख्न घेरिरन्छन् । वरपरकाले मात्रै होइन, उहाँलाई काठमाडौँ कार्यालयबाट आउने हाकिमले समेत चिजभाइ भनेर बोलाउने गरेको उहाँ बताउनुहुन्छ ।

चिजभाइको वास्तविक नाम त वाङताङ तामाङ हो तर उहाँ वास्तविक नामबाट भन्दा कामले दिएको नामबाट परिचित हुनुहुन्छ । अचम्म त उहाँ स्वयम्ले आफ्नो परिचय दिँदासमेत चिजभाइ मात्रै भन्ने गरेको प्रसङ्ग सुनाउँदै तामाङले भन्नुभयो, “कसैले परिचय माग्दा चिजभाइ मात्रै भन्न आउँछ, थर सोधेपछि मात्रै नाम भन्ने गरेको छु ।”

रसुवाको तीन हजारभन्दा माथि उचाइमा अवस्थित दुग्ध विकास संस्थान अन्तर्गतको चन्दनबारीमा चिज उत्पादन केन्द्रले तामाङलाई दिएको पद नै चिजभाइ हो । उहाँका अनुसार चन्दनबारीको केन्द्रमा १५ वटा चौँरीगाईको गोठबाट दुध सङ्कलन गरेर चिज तयार गरिन्छ । चौँरीगाईको चरन क्षेत्र जङ्गल भएकाले किसानले जङ्गलमै गोठ बनाएका हुन्छन् । तिनै गोठबाट दुध सङ्कलन गरेर ल्याउनुपर्छ । युवा पुस्ता चौँरीगाई पाल्न आकर्षित नभएको र पुरानो पुस्ता नसक्ने भइसकेकाले उत्पादन घट्दो क्रममा रहेको अनुभव उहाँको छ । पहिले यही केन्द्रबाट वार्षिक १८ हजार केजीसम्म चिज उत्पादन गरेर काठमाडौँ पठाएको अनुभव सुनाउँदै चिजभाइले भन्नुभयो, “अहिले चिज उत्पादन धेरै घटेको र अझै घट्दो क्रममा रहेको छ । किसान अझै घट्दै छन् ।” उहाँका अनुसार सो केन्द्रबाट हाल मुस्किलले वार्षिक सात हजार केजी चिज उत्पादन हुँदै आएको छ । 

सो केन्द्रका प्रमुख गोविन्द गुरुङले यस केन्द्रबाट वार्षिक सात हजार केजी चिज र दुई हजार केजी मखन उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट चिज र मखन बिक्री गरिन्छ । गोसाइँकुण्ड जाने आन्तरिक तथा बाह्य पर्यटकले चन्दनबारीको चिज किन्ने गरेकाले लगभग आधा यही खपत हुने गरेको केन्द्रका प्रमुख गुरुङको भनाइ छ । उहाँको अनुभवमा चिजको स्वाद चिन्नेहरूले चन्दनबारीबाट चौँरीगाईको दुधबाट बनाइएको औषधीय गुणयुक्त याक चिज किन्ने गर्छन् ।  

उहाँले पछिल्लो पटक चिज उत्पादन घटे पनि यसको उपभोग गर्ने प्रचलन भने बढ्दै गएको बताउनुभयो । रसुवामा चन्दनबारीसहित रसुवाका पाँच ठाउँमा चौँरीगाईको चिज र मखन उत्पादन हुने गरेको छ । 

दुग्ध विकास संस्थानका अनुसार आर्थिक वर्ष २०७८/७९ मा रसुवाका पाँच वटा चिज उत्पादन केन्द्रमा वार्षिक चार लाख लिटर चौँरीगाईको दुध सङ्कलन भएको थियो । जसबाट सो अवधिमा ४० हजार केजी चिज र १३ हजार केजी मखन उत्पादन गरी आठ करोडभन्दा बढी आम्दानी भएको छ । संस्थानका दुग्ध पदार्थ बिक्री वितरण आयोजनाका प्रमुख नरेश जोशीले गएको आवमा रसुवाका दुध उत्पादक किसानलाई चौँरीगाईको दुधबापत साढे तीन करोड भुक्तानी गरेको जानकारी दिनुभयो । हिमाली क्षेत्र रसुवामा ९८ गोठमा दुई हजार पाँच सय वटा चौँरीगाई पाल्दै आएका किसानलाई ४० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने गरेको पनि उहाँले जानकारी दिनुभयो । 

संस्थानका अनुसार रसुुवाका विभिन्न पाँच ठाउँमा रहेका चिज उत्पादन केन्द्रमध्ये सबैभन्दा धेरै गतलाङ र पाङलिङ खर्क (धुन्चेलेक) बाट वार्षिक १०/१० हजार केजी चिज उत्पादन हुन्छ भने सो ठाउँमा वार्षिक पाँच/पाँच हजार केजी मखन उत्पादन हुने गरेको छ । यस्तै तातोपानीमा वार्षिक सात हजार केजी चिज र तीन हजार दुई सय केजी मखन उत्पादन हुन्छ भने लाङटाङ केन्द्रबाट वार्षिक पाँच हजार केजी चिज र दुई हजार केजी मखन उत्पादन हुँदै आएको दुग्ध विकास संस्थानले जनाएको छ । 

हिमाली भेगका किसानले पाल्ने चौँरीगाईको दूधबाट उत्पादित चिज गुणस्तरीय मानिन्छ । २०२७ सालमा स्थापित गोसाइँकुण्ड चिज उत्पादन केन्द्र चन्दनबारीको हो । त्योभन्दा २००९ सालमा स्विस सरकारको आर्थिक सहयोगमा रसुवाको लाङटाङमा चिज उत्पादन केन्द्र स्थापना गरिएको र पछि दुग्ध विकास संस्थानलाई हस्तान्तरण भएको संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानले डेरी उद्योगको ‘कन्सेप्ट’ नै रसुवामा सञ्चालित चिज उत्पादन केन्द्र स्थापनापछि आएको जनाएको छ । 

संस्थानका अनुसार हिमाली क्षेत्रमा पर्ने विशेष गरी रसुवा, सोलुखुम्बु, रामेछाप र दोलखामा गरी नौ वटा उत्पादन केन्द्रबाट चिज उत्पादन हुँदै आएको छ । सबैभन्दा धेरै पाँच वटा चिज उत्पादन केन्द्र रसुवा जिल्लामा छन् । अरू चार वटा दोरखा, रामेछाप र सोलुखुम्बुमा रहेको संस्थानले जनाएको छ । 

चौँरीगाईको चिज उत्पादनका लागि हिमाली क्षेत्रमा १५४ वटा चौँरीगाईको गोठमा लगभग तीन हजार पाँच सय चौँरीगाई रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार आव २०७८/७९ मा छ लाख २३ हजार लिटर चौँरीको दुधबाट ६३ हजार केजी चिज र २१ हजार केजी मखन उत्पादन भएको थियो । 

सो अवधिका ती चिज उत्पादन केन्द्रबाट वार्षिक नौ करोड रुपियाँ आम्दानी भएकामा साढे पाँच करोड किसानलाई दुधबापत भुक्तानी गरिएको आयोजनाका प्रमुख जोशीले बताउनुभयो । भूकम्पपछि चौँरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेस्की दिने कार्य रोकिनु र दुधको मूल्य नबढेका कारण कृषकले केन्द्रलाई दुध उपलब्ध गराउन छाडेका छन् । जसका कारण बर्सेनि चिज उत्पादन घट्दै जान थालेको छ ।