• १३ साउन २०८१, आइतबार

अलैँची निर्यात बढ्यो

blog

काठमाडौँ, जेठ १३ गते । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । 

 भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।  

चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।  

गत वर्ष सो अवधिमा चार अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको ४६ लाख ७० हजार ३६३ किलो अलैँची निर्यात भएको थियो । चालु आर्थिक वर्षमा अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि निर्यातमा समेत वृद्धि भएको हो । 

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको  भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले अलैँची निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो । भारतले नेपाली अलैँचीलाई आफ्नो ब्रान्ड बनाएर निर्यात गर्ने गरेको छ, उहाँले भन्नुभयो, “नेपालबाट गुणस्तरयुक्त ब्रान्ड बनाएर निर्यात गर्न सके विदेशी मुद्रा धेरै आर्जन गर्न सकिन्छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ । 

तीन अर्बको चिया निर्यात

यसैबिच दस महिनाको अवधिमा चियाको निर्यात २१ प्रतिशतले बढेको छ । साउनदेखि वैशाखसम्म तीन अर्ब ३४ करोड ७४ लाख ३४ हजार रुपियाँ बराबरको एक करोड ४७ लाख ८४ हजार ५१६ किलो चिया निर्यात भएको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ७६ करोड ३९ लाख ४२ हजार रुपियाँ बराबरको एक करोड ३५ हजार ४७२ किलो निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको एक करोड २४ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपाली चिया भारत, क्यानडा, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

यसैबिच दस महिनाको अवधिमा अदुवा निर्यात ८८ प्रतिशतले बढेको छ । दस महिनामा ९० करोड सात लाख ५४ हजार रुपियाँ बराबरको दुई करोड १२ लाख नौ हजार केजी अदुवा निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४७ करोड ७१ लाख ५५ हजार रुपियाँ बराबरको ८२ लाख ८९ हजार ९७५ किलो निर्यात भएको थियो । अदुवा भारत, नेदरल्यान्ड, बङ्गलादेश, जापान, जर्मनी र कतारमा निर्यात हुने गर्छ  । 

नेपालबाट निर्यात हुने अलैँची, अदुवा र चियाजस्ता कृषिजन्य उत्पादनको निर्यात प्रवर्धन गर्नका लागि सरकारले आवश्यक विशेष कार्यव्रmम सञ्चालन गर्ने विषय आफ्नो नीति  तथा कार्यव्रmममा नै उल्लेख गरेको अवस्थाले आगामी दिनमा यस्तो उत्पादनको निकासी बढ्ने अपेक्षा व्यवसायीको छ ।