• १२ साउन २०८१, शनिबार

भ्रमण दशक मनाइने

blog

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, जेठ ६ गते । सरकारले सन् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने नीति सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। राष्ट्रपतिद्वारा सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्धनात्मक कार्यक्रम  सञ्‍चालन गरेर २०८० सालको दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने उल्लेख छ। पर्यटन आवागमन बढाउन र विदेशी मुद्रा आर्जनका लागि सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसका लागि आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गर्ने जनाइएको छ।

नेपाली सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्धन एवं पुस्तान्तरण गरी जीवन्तता दिइने, ऐतिहासिक पुरातत्वले भरिपूर्ण स्थलको अन्वेषण, उत्खनन र संरक्षणलाई निरन्तरता दिने सरकरको नीति छ। कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको जानकी मन्दिरलाई विश्‍व सम्पदा सूचीमा समावेश गरिने उल्लेख छ।

पर्यटन ऐनमा समयानुकूल परिमार्जन गर्दै सूचीकृत पर्यटकीय गन्तव्यको विश्‍वव्यापी प्रचार गरिने, अत्यावश्यक पर्यटकीय पूर्वाधार विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्य विस्तारमा जोड दिने सरकारले नीति लिएको छ। त्यसका लागि सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गरिने, एक प्रदेश एक सांस्कृतिक ग्राम अवधारणा, विश्‍व पर्यटन बजारमा नेपालको ब्रान्डिङ र विभिन्न आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्धन अभियान सञ्‍चालन गरिने जनाइएको छ। पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रका रूपमा विकास संरक्षण र प्रवर्धन गर्ने सरकारको नीति रहेको उल्लेख छ।

  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।