नरसिङ्गा, बाजा, दमाहा बजाउँदै, डाँडा/डिलमा उभिएर चिच्याउँदै सार्वजनिक सूचना प्रसारण गर्ने त्यो जमानामा गोरखापत्रको प्रकाशन नयाँ युग प्रवेशको सन्देश थियो । त्यो दिन अर्थात् वि.सं. १९५८ को आजकै दिन नेपाली हात गोरखापत्र (गोर्खापत्र) ले सजिएका थिए । दक्षिण एसियाको बङ्गाल गजेट (सन् १७८०)भन्दा १२१ वर्षपपछि अनि डेली कुरान्ट(१७०२) भन्दा झन्डै दुई शताब्दीपछि भए पनि गोरखापत्रको प्रकाशन राणाकालीन अन्धकार युगको धिपधिपे उज्यालो थियो । जनताको पढाइ, लेखाइ र सूचना अधिकारबाट वञ्चित गर्ने जहानियाँ शासनमा कालो बादलमाथि चाँदीको घेरा भनेझैँ भित्रका–शिक्षा, सूचना पक्षधर निस्किए । तत्कालीन प्राइमिनिस्टर देवशमशेरको सदिच्छा र प्रेरणाबाट गोरखापत्र (उस बखत ‘गोर्खापत्र’) प्रकाशित हुन थाल्यो । शासकीय वर्गकै बझाङी जयपृथ्वीबहादुर सिंह अनि बौद्धिक खानदानका पण्डित नरदेव पाण्डे आदिको सक्रियता र संलग्नतामा प्रकाशन भयो गोरखापत्र । आज १२३ वर्ष प्रवेशको अवसरमा हाम्रा समस्त अग्रज स्मरणीय हुनुहुन्छ ।
प्रकाशनका लागि जारी ‘सनद’मा त्यस बखतका शासकले गोरखा पत्रिकामा ‘छापने’ र ‘नछापने’ विषय पनि तोकिएका थिए । ‘अनोठा अनोठा कुरा’ छाप्न हुने कित्तामा परेका छन् भने ‘हाम्रा तारीफका कुरा नछापनू’ भन्ने शब्दावलीले छाप्न नमिल्ने विषयतर्फ इङ्गित मात्र गर्दैन, हाम्रै पत्रकारिताको आचारसंहिताको आवरण दिन्छ । अमेरिकन एसोसिएसन अफ न्यून पेपर इडिटर्स (१९२२)भन्दा दुई दशकअघि नै गोरखापत्र प्रकाशन हुँदाकै बखतको यो संहितालाई हामीले विश्वपत्रकारिताको आयामसित जोड्ने कडी हो । त्यसो त समयको अन्तरालमा यी मार्गदर्शनको के के कति पालन ग¥यौँ गरेनौँ बेग्लै कुरा हो । राज्य सञ्चालन गर्ने शासकीय नेतृत्व, वर्ग, प्रणाली फेरिए । भिन्नभिन्न पृष्ठभूमिका व्यक्तिहरू आए गए । राज्यको गोरखापत्रले स्वाभाविक रूपमा राजकीय प्रभावमा सूचना, शिक्षा सञ्चार ग¥यो तर राजकीय संयन्त्रका गुण मात्र गएको छैन, त्रुटि, दोष देखाएको छ, नागरिकका आवाज मुखरित गरेको छ । सूचना दिएको छ अनि भाषा, साहित्य र संस्कृतिलाई समृद्ध बनाएको छ ।
कतिपयमा गोरखापत्रलाई राजपत्रसरह ‘सरकारी’ भन्ने पूर्वाग्रह छ । राजपत्र बेग्लै हो, समाचार र तिनउपरका विचार, टिप्पणी, विज्ञापनसमेतका सन्देशसहित जनसमक्ष पुग्ने गोरखापत्र बेग्लै हो । यो राज्यको स्वामित्वमा छ, राज्य नेता वा शासकीय तप्काको मात्र होइन, जनता अर्थात् समग्र नेपाली नागरिकको सम्पत्ति हो गोरखापत्र र यसका प्रशासन । त्यसैले गोरखापत्रले छाप्छ–बाटो, पानीकुवा, वनजङ्गलदेखि जनताको कर दुरुपयोग गरी भ्रष्टाचार गरिएका सामग्री कथाहरू । २००७ सालअघि, २०१९ देखि २०४५ सालसम्मको अवधिमा गोरखापत्र सञ्चालनको सनद, ऐन र अभ्यास अनि त्यसपछिको अवधिमा यसको प्रस्तुतिलाई एकै नजरले हेरिनु पूर्वाग्रह हुनेछ । संविधान निर्माणका क्रममा शाही दरबारिया षड्यन्त्रलाई गोरखापत्रले ध्वस्त पार्न पु¥याएको योगदान स्मरणीय छ । २०४७ को संविधानमार्फत प्राप्त स्वतन्त्रतामा पनि गोरखापत्र मैँमत्त भएर विज्ञापन नदिए सरकार ढलाइदिन्छु, उद्योग बन्द गराइदिन्छु, व्यवसाय ठेगान लगाइदिन्छु भन्ने दुनिर्यतबाट टाढै रह्यो ।
अनेक प्रसङ्गले प्रस्ट छ – गोरखापत्र सूचना सञ्चारको खासगरी पत्रकारिताको नेपाली विश्वविद्यालय हो । यसमार्फत नै अब्बल पत्रकार वा सूचनाको महत्त्व बुझेका राष्ट्रसेवक उत्पादन भएका छन् । अहिले हात हातमा मोबाइल र सिरानी सामुन्ने स्क्रिनमार्फत विश्वभरको सूचना वा शिक्षा लिन सकिने जमाना आएको छ । डिजिटल युगको यो सुविधा छापामाध्यमजस्तो सुरक्षित र दिगोचाहिँ छैन । पाँच छ वर्षअघि विद्युतीय माध्यममार्फत प्रसारित सामग्री प्रमाणका रूपमा खोज्दा पाउन नसकिने अवस्थामा १२२ वर्षका हरेक दिनको सामग्री गोरखापत्रमार्फत पाइन्छ, भलै कतिपय अवस्थामा अति दुर्लभ नै किन नहोस् । छापामाध्यमको महत्त्व यसबाट बुझिन्छ । पत्रकारिता पढाउने, अनुसन्धान गर्ने र पुस्तक लेख्नेहरूले पत्रकारिताको सन्दर्भमा आउने ऐतिहासिक पाटोलाई केलाउने आधार गोरखापत्र नै हो ।
गोरखापत्र एक्लो छैन । गोरखापत्र संस्थानमार्फत अङ्ग्रेजी दैनिक राइजिङ नेपाल (दराने) प्रकाशन भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायलाई नेपाली खबर दिन्छ दरानेले । यसले अन्तर्राष्ट्रिय खबर अङ्ग्रेजी बुझ्ने नेपालीलाई सुसूचित गर्छ । पत्रपत्रिका पढ्न सिकाउने मासिक बालपत्रिका मुना हाम्रै हो । युवावर्गले मासिक युवामञ्चमार्फत युवाको नवप्रवर्तन, साहस, सफलताका कथा थाहा पाउँछन् । साहित्यानुरागीको मानक छ मधुपर्क मासिक । नेपालका अब्बल साहित्यकार कसले ठाउँ पाएनन् र यसमा ?! बिहान गोरखापत्र हातमा नपरी चियाको गिलास ओठमा नपु¥याउने कैयौँ नेपाली छन् । हामी साराको हात र मनमा गोरखापत्र स्थापित गर्न चाहने प्रयास जारी राख्छौँ । गोरखापत्र राज्य र नागरिकबीचको सूचना संवाहक हो भन्ने सदा हेक्का राख्नेछौंँ । यो अवसरमा समग्र पाठकवृन्दमा हार्दिक हार्दिक शुभकामना ।