• ८ मंसिर २०८१, शनिबार

गन्तव्य एसिया कप

blog

नेपाली क्रिकेटले वैशाख १९ गते ठूलो खुसी दियो एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर । दस राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल च्याम्पियन बन्यो । एसीसी प्रिमियर कप जित्ने राष्ट्र एसिया कप खेल्न योग्य हुने भएकाले प्रिमियर कपको ठूलो महŒव थियो । एसिया कपमा विश्वका क्रिकेट महाशक्ति राष्ट्रहरू–भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको पनि सहभागिता रहन्छ । त्यसैले एसोसिएट राष्ट्रका लागि एसिया कप खेल्नु विश्वकपमा सहभागी हुनुभन्दा कम होइन । यो अवसर यसपालि नेपालले हासिल गरेको छ ।

पछिल्ला दुई महिनायता नेपाली क्रिकेटले खुसीको शृङ्खला बढाइरह्यो । नेपालले हालै मात्र आशा मरिसकेको अवस्थामा विश्वकप क्रिकेट डिभिजन लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप एकदिवसीय ग्लोबल छनोटमा पनि स्वतः चयन हुन सफल भयो । हुन त विगतमा पनि नेपाली क्रिकेटमा थुप्रै उपलब्धि हासिल भएको छ । नेपालले टी–२० विश्वकप क्रिकेट खेलिसकेको छ । विगतमा नेपाल एसोसिएट राष्ट्रमध्ये क्रिकेटको नम्बर एक टिम पनि थियो ।

नेपाली क्रिकेटरहरूले पुनः आफ्नो देश र झन्डालाई उँचो पारेका छन् । राजनीतिले शिर झुकाउन पारेका नागरिकलाई यी खेलाडीले जुरुक्क उठाएका छन् । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपालको परिचय अब क्रिकेटबाट पनि बनेको छ । यसपालि एसिया कपमा स्थान बनाएर भारत र पाकिस्तान रहेको समूहमा परेपछि विश्वमै नेपाली क्रिकेटको समाचार बन्यो । नेपाली क्रिकेट टिमलाई बधाईको ओइरो नै लाग्यो । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि राजनीतिक दल अनि विविध सङ्घसंस्थाले बधाई दिए । क्रिकेटले दिएको उपलब्धिमा खुसी भएर मन्त्रीपरिषद्ले क्रिकेट खेलाडी र मुख्यप्रशिक्षकलाई जनही छ लाख अनि अन्य पधाधिकारीलाई तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । 

हो, नेपाली क्रिकेट बधाईको हकदार छ । विश्व क्रिकेटमै लगातार उपलब्धि हासिल गर्दै गएपछि क्रिकेट खेलाडीको पनि उल्लेख्य वृद्धि भएको छ । नेपालमा सबभन्दा लोकप्रिय भनिएको फुटबललाई पनि क्रिकेटले पछाडि पार्ने क्रममा छ भन्दा फरक पर्दैन । अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम सम्मानका साथ लिइन्छ तर यसबीच विश्व मानचित्रमा आफ्नो पहिचान बनाइसकेको नेपालले अब यो गर्विलो छविलाई कायम राख्न चुनौती भने छ ।

एसोसिएट राष्ट्रले लामो समयसम्म सफलतालाई कायम राख्नसकेको इतिहास छैन । विश्वकप खेलिसकेका केन्या, बर्मुडाजस्ता देश यसका उदाहरण हुन् । नेपालमा पनि क्रिकेटको घरेलु संरचना बलियो छैन । सफलता लामो समयसम्म कायम राख्न घरेलु क्रिकेट संरचनालाई सकेसम्म लम्ब्याउनुपर्छ । क्रिकेटरलाई चार, पाँच महिना प्रतियोगितामा व्यस्त गराइरहनुपर्छ । दुईदिवसीय, एकदिवसीय र छोटो संरचनाको टी–२० भइरहनुपर्छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुलपानी क्रिकेट रङ्गशालाको भौतिक संरचनामा केही काम गरेको छ । भौतिक पूर्वाधारको नाममा त्रिवि रङ्गशाला मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा थियो । यसको स्तरोन्नतिसँगै निर्माणाधीन र प्रस्तावित रङ्गशालाको निर्माण यथाशीघ्र सम्पन्न गरिनुपर्छ ।

नेपाली क्रिकेटलाई कतातिर मोड्ने भन्ने हात क्यानसँगै सरकारको पनि हुन्छ । सरकार सधैँ खेलाडीलाई राज्यको गहना भन्दै भाषण र पुरस्कार घोषणा गर्ने तर बिर्सने गरेको तितो विगत छ । अहिलेसम्म पनि खेलकुद प्राथमिकतामा परेको छैन । क्रिकेटको सफलतालाई नै हेरेर भए पनि अब सरकारले आफ्नो दृष्टिकोणमा व्यावहारिक परिवर्तन ल्याउनु अनिवार्र्य छ । सबभन्दा पहिले त खेलाडीको भविष्य सुनिश्चित हुनुपर्छ । उनीहरूलाई ढुक्क भएर क्रिकेट मात्रै खेल्न दिनुपर्छ । जुनियर क्रिकेटमा ध्यान दिनुपर्छ, जसले गर्दा खेलाडीहरूको कमी नहोस् । विगतमा श्रीलङ्काले क्रिकेटमा चाँडै प्रगति गरेको पनि जुनियर क्रिकेटकै कारण हो । त्यहाँ प्रत्येक विद्यालयमा क्रिकेट मैदान र टिम अनिवार्य बनाइएजस्तै नेपालमा पनि त्यस्तै खालको प्रभावकारी खेलकुद विकास योजना ल्याउनुपर्छ । सँगसँगै कर्पोरेट हाउसहरू यस खेलको प्रवद्र्धनमा अगाडि आउनुपर्छ । क्रिकेटरलाई व्यावसायिक बनाउन सकिएको छैन । जुन कुनै पनि खेल विकासका लागि अत्यावश्यक छ । नेपाल खेलकुद पर्यटन गन्तव्य बन्न सक्ने सम्भावनाको लाभ लिन सकिनेछ ।