• १३ साउन २०८१, आइतबार

जब सचेतकले सभापतिलाई रोके...

blog

काठमाडौँ, वैशाख १३ गते । प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिनुभएको थियो। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गर्नुभयो। 

रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लाग्नुभयो। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बस्नुभयो। 

प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काउनुभयो ? धेरै जानकारी नहुन सक्छ तर संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ। सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो। 

सभापति देउवा सांसद रिजाल बोलिरहेकै अगाडिबाट बाटो काट्न लाग्नुभएको थियो। सभामुख र रिजालको बीचबाट पर्नेगरी नै देउवा बाहिरिन लागेपछि लेखकले रोक्नुभएको थियो। देउवाको कार्य प्रतिनिधि सभा नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले उक्त अग्रसरता देखाउनुभएको थियो। लेखकको आग्रहअनुसार सभापति देउवा उपसभापति धनराज गुरुङसँगै रहेको स्थानमा आएर बस्नुभएको थियो। प्रतिनिधि सभा नियमावलीको नियम २० मा सदस्यहरूले बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। जसमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने उल्लेख छ। 

यसअघि प्रतिनिधि सभामै एमाले सचेतक महेश बर्तौलाको ध्यानाकर्षणमा कांग्रेस सांसद पूर्णबहादुर खड्काले यस्तै प्रकरणमा माफी माग्नुभएको थियो। चैत १२ गतेको बैठकमा एमालेका बलराम अधिकारी बोलिरहनुभएको बेला खड्का बीचबाट हिँड्नुभएको थियो। खड्काले नियमावली उल्लङ्घन गरेको भन्दै बर्तौलाले नियमापत्ति गर्नुभएको थियो। लगत्तै खड्काले नियमावली पालना नगरेकोमा माफी माग्नुभएको थियो।  

के–के नियम पालना गर्नुपर्छ ? 

नियम २० मा सदस्यहरूले पालना गर्नुपर्ने नियम उल्लेख छ। जसमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने, बैठक स्थगित भएपछि मात्र बैठक कक्ष छाड्नुपर्ने, सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने, सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुनेलगायत छन्। 

यस्तै, सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठिउँ फर्काएर बस्न र उभिन नहुने, सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने गरी मर्यादा भङ्ग गर्न नहुनेलगायतका छन्। यस्तै बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने पनि नियमावलीमा उल्लेख छ।