• १३ साउन २०८१, आइतबार

नेपाल झल्काउने तस्बिर प्रदर्शनी

blog

काठमाडौँ, वैशाख ७ गते । बेलायत (संयुक्त अधिराज्य)को लन्डनमा ‘नेपाल रिमेम्बर : हिस्टोरिकल इमेजेज’ नामक पुस्तक सार्वजनिक गरिनुका साथै त्यसभित्र रहेका तस्बिरहरूको प्रदर्शनी गरिएको छ । 

नेपाली रोयल एसियाटिक समाजले आयोजना गरेको कार्यक्रममा क्रिस्टिना चित्रकारद्वारा लिखित सो पुस्तकमा रहेका नेपाल झल्काउने तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको थियो । वरिष्ठ फोटो पत्रकार किरण चित्रकारले दिएको जानकारीअनुसार उहाँका बाजे दीर्घमान र बुवा गणेशमान चित्रकारले एक शताब्दीबीच नेपालका विभिन्न भूभागमा  खिच्नुभएका तस्बिरहरू समेटेर पुस्तक तयार गरिएको हो । 

प्रदर्शनीमा दुई सय वर्षभन्दा बढी दौत्य सम्बन्ध कायम भएको बेलायत र नेपालको सम्बन्ध झल्काउने खालका तस्बिरहरू पनि राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा हाल खुला डबली रहेको क्षेत्रमा भूकम्पले क्षतिग्रस्त बनाएको घरका साथै गद्दी बैठक रहेको स्थानमा भएको दरबार देख्न सकिन्छ । नेपालमा पहिलो पटक क्यामरा चलाउने परिवारका रूपमा चित्रकारको परिवारलाई लिइन्छ । तिनैमध्ये दीर्घमान चित्रकार र गणेशमान चित्रकारले खिच्नुभएका तस्बिरलाई ठूलो बनाएर प्रदर्शनीमा राखिएको छ । उहाँहरूले पुराना क्यमराबाट खिच्नुभएका तस्बिरहरू पनि किताबमा राखिएका छन् ।

प्रदर्शनीमा २० वटा तस्बिर राखिएका थिए । कार्यक्रममा लन्डनस्ति नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको सहभागिता थियो ।