काठमाडौँ, चैत २८ गते । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।
काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताउनुभयो। काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस (केएमसी)मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्।
स्कुल अफ एजुकेसनअन्तर्गत १९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएकोमा आधाभन्दा बढीमा विद्यार्थी कोटा रिक्त छ। स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन, स्कुल अफ म्यानेजमेन्टलगायतमा पनि कोटाअनुसार विद्यार्थी भर्ना नभएको उपकुलपति थापाले जानकारी दिनुभयो। हरेक वर्ष विद्यार्थी भर्ना क्षमताभन्दा निकै कम भर्ना हुन थालेपछि शैक्षिक कार्यक्रमलाई हटाउने विषयमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको अवस्था अझै नराम्रो छ। यहाँ पनि कुनै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना कोटा रिक्त छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालका अनुसार त्रिविमा तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।
केहीमा बाहेक अधिकांश कार्यक्रममा विद्यार्थी भर्ना क्षमताअनुसार कोटा पूरा नभएको उहाँले बताउनुभयो। एक पटक प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना आह्वान गर्दा मागअनुसार नभएपछि फेरि प्रवेश परीक्षा लिएको र विद्यार्थी भर्ना प्रक्रिया जारी रहेको पनि उहाँले जानकारी दिनुभयो।
रामपुरको कृषि तथा वन विश्वविद्यालयमा पनि कुल विद्यार्थी भर्ना क्षमताको ४० प्रतिशतभन्दा बढी रिक्त रहेको विश्वविद्यालयले जनाएको छ। पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतका राष्ट्रिय स्तरकै अन्य विश्वविद्यालयमा पनि विद्यार्थी भर्नाको अवस्था न्यून छ। प्राध्यापक डा. लोकराज बरालले विश्वविद्यालयले परम्परागत शिक्षालाई मात्रै जोड दिने गरेका कारण विश्वविद्यालयमा विद्यार्थी आकर्षण घटेको बताउनुभयो।
नेपालमा हाल ११ वटा विश्वविद्यालय सञ्चालनमा छन्। प्रादेशिकलगायतका विश्वविद्यालय तथा प्रतिष्ठान गरेर २२ वटा छन् भने ८७ वटा संस्थाले विदेशी सम्बन्धन लिएर पठनपाठन गर्दै आएका छन्। त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये करिब ७६ प्रतिशत छन्।
कक्षा १२ उत्तीर्ण हुनासाथ बिदेसिने प्रवृत्तिका कारण स्वदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी कम भएको तथ्याङ्कले देखाउँछ। बर्सेनि सवा एक लाख विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन्। तीमध्ये ७० प्रतिशतभन्दा बढी बिदेसिने गरेका छन्। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एकै वर्षमा तीन खर्ब रुपियाँ लिएर गएको तथ्याङ्कले डरलाग्दो रूप देखाएको छ।
शिक्षाका लागि बसाइँ सर्नेक्रम विश्वभरि नै छ। विश्वमा यो दर ३.४ प्रतिशतले बढ्ने गरेको छ। नेपालमा बर्सेनि २०.१ प्रतिशतका दरले बसाइँ सर्ने गरिएको तथ्याङ्कले देखाएको छ। चीनमा यो दर ६.८ प्रतिशत र भारतमा १२.३ प्रतिशत छ। काठमाडौँ विश्वविद्यालयको भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले प्रवेश परीक्षामा पनि विगतमा भन्दा कमी आएको र नयाँ विषयमा पनि विद्यार्थीको आकर्षण नदेखिएको बताउनुभयो।
“विद्यार्थी घट्नुको उत्तर कसैसँग छैन,” मिश्रले भन्नुभयो, “एसईईबाट कक्षा १२ सम्म पुग्दा ५० प्रतिशत विद्यार्थी घटिसकेका हुन्छन्। बाँकी विद्यार्थी पनि कोही बिदेसिने, कोही विदेशी सम्बन्धन प्राप्त कलेजमा भर्ना हुने गरेका छन्। त्रिविमा ३४२ दिनसम्म लगातार बन्द हुँदा नेपालका सबै विश्वविद्यालयमा राजनीति हुन्छ भन्ने गलत बुझाइ विद्यार्थीमा परेको छ। यसले गर्दा विद्यार्थी बिदेसिन चाहन्छ । यसको असरले नेपालका विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ।”