• १३ साउन २०८१, आइतबार

स्वीकारोक्ति

blog

सधैँ सधैँ स्वीकार गर्नुपर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दाम मैदानमा लम्पसार सुतिदिएको यस जीवनलाई सधैँ समयको सुइरोले एउटा आघात दिन्छ । सोच्छु, यो एउटा बिहानी हो जहाँ समयको नाङ्गोपनलाई शरीरभरि लिएर बाँच्नुको एउटा स्वीकारोक्ति दिन्छ । कति आनन्दले सुतिरहेको छ कमल । हिजोबाट त झन् खुसी भएको छ ऊ । खुसी पनि किन नहोस् त हुनेवाला सीईओ जो प-यो । चार वर्षअगाडि हाम्रो लभ म्यारिज भएको थियो । हामी कलेजदेखि साथी हुँदै आज लोग्नेस्वास्नीसम्म हुन पुग्यौँ । चार वर्ष अगाडि र आजको कमलमा आकाश जमिनको फरक भइसकेको थियो । समयले हरेक कुराहरूलाई कति चाँडो चेन्ज गरिदिँदो रहेछ भन्ने बल्ल थाहा पाउँदैछु । यो घरमा प्रेमिकाबाट दुलही भएर आउँदा म आफूलाई कति भाग्यमानी सम्झेको थिएँ । त्यो हाम्रो पहिलो रात र हाम्रो कोठा अनि कोठामा हरेक वस्तुहरू मेरो चाहनाअनुसार सजिएका थिए । कति ससाना कुराहरूको विचार गथ्र्यो कमल मेरो । 

‘सञ्जु आज तिमीले मेरो बाँच्नुको अर्थ पूरा गरिदियौ । तिमीले मेरो जीवनमा आएर नयाँ बिहानीको सुरुवात गरेका छौँ र आज म तिमीलाई एउटा कसम दिन्छु कि तिम्रो हरेक कदमहरूमा म सधैँ तिम्रो साथ हुनेछु’ मेरो हात समातेर रुँदै भनेको मान्छे ऊ । 

उफ् के भा’को होला म पनि । एकाबिहानै ती पुराना कुराहरू सम्झेर अब केही फाइदा छ र ? उठेर झ्याल खोलेँ । झरीले निथ्रुक्क भिजेको वैरागलाग्दो बिहानी । चराका निप्स बोलीहरू सुनेर पनि झन्झन् मन रूँरूँझैँ लाग्न थाल्छ । बादलको अटेसमटेसभित्र लुकेको क्षितिज जो एउटा भ्रामक धर्सो पनि हो, लाई सम्झँदा मात्र आफ्नो अन्तरमा अनन्त तिर्खाको छटपटी, मानौँ एउटा मर्न नसकेको अस्तित्व आफूभित्र छ । 

दिनप्रतिदिन परिवर्तन हुँदै गएको थियो कमल । उसका लागि मात्र ऊ र उसको भविष्यबाहेक बाँकी सब शून्य थिए । म हुनु नहुनु उसका लागि केही महìव राख्दैन थियो । म बोर हुँदै गइरहेको थिएँ ऊ र उसको घरदेखि । कैयौँ दिन ऊ घर नै आउँदैन थियो, मात्र काम, अफिस र उसको धनी बन्ने सपना । 

‘सञ्जु तिम्रा लागि म कति महìवपूर्ण छु ?’ उसले हाम्रो एनिभर्सरीको रात सोधेको थियो । 

‘कमल तिमी यदि मेरा लागि केही नहुने हो भने सबै छोडेर तिमीसँग पक्कै पनि विवाह गर्ने थिइनँ होला’, मेरो उत्तर सुनेर ऊ नजिक आउँछ र मेरो काखमा बच्चाले जस्तै टाउको राख्छ । 

‘मलाई थाहा छ तिमी मसँग दुःखी छौ । मलाई यो पनि थाहा छ कि मैले तिम्रा लागि टाइम दिन सकिरहेको छैन । तर सञ्जु मैले जे गरिरहेको छु मात्र हाम्रो सुन्दर भविष्यका लागि हो । बिस्तारै अब हाम्रो बच्चा होलान्, हो ती सबका लागि यो सब दुःख गर्नुपरेको हो ।’ उसको बोलीमा म बढी सहजता भेट्टाउँछु । 

उसको आँसुका थोपाहरूले मेरो काखमा चिसो अनुभव हुन्छ र साथै कमलको मुखबाट पहिलो पटक ‘हाम्रो बच्चा’ भन्ने शब्दले मनमा कताकता शीतल पैदा गर्छ । 

‘सञ्जु आज हाम्रो फस्र्ट एनिभर्सरी हो । आजसम्म मैले तिमीसँग केही मागेको छैन । आज म तिमीसँग हाम्रो भविष्यका लागि केही माग्न चाहन्छु, के दिन सक्छौ ?’ ऊ दुई हात जोडेर मेरो अगाडि घुँडा टेक्छ । 

‘के गरेको तिमीले ? म तिम्रो हुँ र तिमी मेरो । अब पनि हामीबीच केही लुकेको छ र नि । निर्धक्कले भन कमल, म पूर्ण रूपमा तिम्रो हुँ ।’ म खुसीले उसको निधारमा माया गर्छु । 

‘थाहा छैन तिमीले मलाई के सोच्ने छौ, जब मेरो कुरा सुनेपछि तर सञ्जु मलाई गलत नसम्झनु । मात्र हाम्रो भविष्यका लागि हो र बस् एक पटकका लागि हो । त्यसपछि यो कुरा कहिल्यै दोहोरिने छैन र हाम्रो सम्बन्ध झन् प्रगाढ हुनेछ,’ अझै त्यही हात जोडिरहेको अवस्था हुन्छ कमल । 

‘अब धेरै भूमिका नबाँध । जे छ खुलस्त भन ।’ मनमा एक प्रकारको डर उत्पन्न हुन थालिसकेको थियो मलाई । 

‘मेरो अफिसको बोस अर्को महिना जर्मनीबाट आउँदैछ । यस पटक जसरी हुन्छ प्रमोसन हात पार्नुपर्छ, जसका लागि बोसलाई खुसी पार्नु छ र त्यसका लागि एक रातका लागि तिमीले हाम्रो भविष्यका लागि सम्झौता गर्नुपर्छ ।’

आधा रातको समाप्ति भइसकेको छ । बत्ती धक फुकाएर बलिरहेको छ । बाँकी सबै मुर्दाजस्तै चकमन्न र निर्जीव । हाम्रो पहिलो एनिभर्सरी थियो आज । कति सपनाहरू बुनेर आजैको दिन आएको थिएँ यो घरमा । जे भयो भयो तर आफ्नो स्पेसल रातलाई झन् रोमान्टिक बनाउँछु भनेर बिहानदेखि घरको सरसफाइ गरी कमललाई मन पर्ने परिकार र साथमा रेड वाइन ल्याएको थिएँ । तर क्षणभरमा नीरस रात भइदियो । 

कमल आफ्नो सिङ्गो शरीरलाई मूर्ति जस्तै पारी एक टकले मलाई नै हेरिरहेको थियो । अब मलाई उसको घिनलाग्दो आकृति आँखाभरि आएर बाधा गरिराख्यो । उसको एउटा निसङ्कोच हेराइमा कहीँ कतै आत्मग्लानि थिएन । लाग्थ्यो कोठाभरि कमलको डरलाग्दो आकृति डुलिरहेको छ, अनायास लामालामा हातहरूले ऊ मलाई अँठ्याउन खोजिरहेको छ । एउटा घृणित स्वार्थका लागि मलाई बली चढाउन सुन्दर भविष्यको लोभ देखाइरहेको छ । कति फोस्रो रहेछ हाम्रो सम्बन्ध । झ्यालको चिसो हावा थापेर सोच्दा हाम्रा भोलिको भविष्य देखेर आफँैलाई हाँसो उठ्यो । प्रश्न गरेँ, के ममा अझै पनि मेरो आफ्नोपन शेष छ ? के हुन्छ यो भएर पनि अब ?

यो स्थितिको भाग्ने ठाउँ छ कतै ? निरुत्तर थिएँ । कोठाको सन्त्रास क्रमशः शिथिल हुँदै गयो । 

महिनौँ दिनसम्म विभिन्न प्रलोभन देखाउँदै ऊ मलाई फकाइरह्यो । अन्ततः म हारेँ वा अझ भने भनूँ मलाई बाध्य बनाइयो । सम्झौताका लागि । दिनहरू त्यसरी बित्छन् । म त्यसरी नै दिन काट्छु अथवा आफूलाई समय काटिरहेको पाउँछु । अँध्यारोलाई अब म साबिक बमोजिम निलिदिन्छु । कमलको त्यो ‘एक रातको सम्झौता’ क्रम बढ्दै गइरहेको थियो । होटलको कोठा र स्थितिहरूलाई अब म परिभाषा दिने गर्दिनँ । मलाई अब अपराधबोध पनि त हुँदैन । प्रेम, कमल र म अनि हाँसो उठ्छ, जुन हाँसोमा अब अर्थहीनता पनि हुँदैन । 

‘ढुक्क हुनुस् अब तपाईंको श्रीमान्लाई सीईओ बन्न कसैले रोक्दैन । यसरी नै खुसी पार्दै जानु भएमा तपाईंको श्रीमान् धेरैमाथि पुग्नु हुनेछ ।’ यस्ता कुराहरू धेरै बोलिन्थ्यो र प्रत्येक पल्ट म आफूलाई यस्ता शब्दसँग अल्झिरहेको पाउँथे । 

‘तपाईं आज किन यसरी क्रेजी हुनुभएको ? अब त घरमा भन्दा होटलको कोठामा नै बढी रमाइलो लाग्न थाल्यो जस्तो छ नि ।’ चुरोटको धुवाँका गोलगोल चक्रहरू सामुन्नेमा आउँदै फिँजिँदै थिए । म अकारण ती चक्काहरू गन्न लागे । गालाको पाटामा चोटभन्दा अपमान बढी दुःखेको थियो । 

‘सञ्जु आज म धेरै खुसी छु । दुई दुईवटा खुसी एकैसाथ हाम्रो जीवनमा आयो । तिम्रो कमल आजबाट सीईओ भयो र अबको नौ महिनापछि हाम्रो बच्चा हुँदै छ । यो सब तिम्रो कारणले भएको हो सञ्जु ।’ ऊ मेरो काखमा फैलिन्छ । 

छातीभरि म कमल तातो र दुर्गन्ध अनुभव गरिरहेको थिएँ । मेरो छातीमा हात राख्दै मेरो ओठ चुम्न खोज्छ । अब शरीरभरि लोग्नेमान्छे थाप्नुको अनुभवबाट अभ्यस्त भइसकेको म कमलको गह्रुँगो थिचाइले सक्सकाउन लागेको थिएँ । म पनि आफूलाई एउटा खुला बजार मान्न थालिसकेको थिए, पसलजस्तै खुलस्त । मलाई आफ्नो हुनु धेरै तल्लो तहको घृणास्पद लाग्यो । मैले फेरि पनि आफ्नो जिउभरि चिप्लेकीरा टाँसिएको महसुस गर्छु । 

‘सञ्जु अब हुनेवाला बच्चाको नाम हामी के राख्ने ? छोरा वा छोरीको ?’ ऊ बोलिरहन्छ । 

‘यो मेरो पेटमा भएको बच्चा तिम्रो होइन । यो बच्चा तिम्रो नभएर होटलका रूममा हरेक हप्ता बिताएका सम्झौताका हुन् ।’ मलाई कोठाको भित्ता चर्किने गरी कराएर भन्न मन लाग्छ । तर चुप लागिदिन्छु । 

कमललाई पहिलो पटक भेट भएदेखिका कुरा खोतलेर मनमनै सोच्न थाल्छु– एउटा सत्ताहीन मानिससँग बीच हुनुको के माने छ ? प्रत्येक दीनहीन मनस्थितिहरू अब ममा चिप्लेटी खेलेर जान्छन् ।