• २२ कात्तिक २०८२, शनिबार

जनपरिचालन अभियानलाई सशक्त बनाउन निर्देशन

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता ढकाल ।

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक २२ गते। नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई सशक्त बनाउँदै सङ्गठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ढकालले पार्टीको जनपरिचालनलाई जनस्तरसम्म प्रभावकारी ढङ्गले पुर्‍याउन सबै जनसङ्गठनबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“हामीले जनपरिचालनलाई सङ्गठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ” उहाँले भन्नुभयो, “जनसङ्गठनहरू बिचको समन्वय, एकता र सहकार्यबाट मात्र पार्टीलाई अझ सबल र जनमुखी बनाउन सकिन्छ।” ढकालले पार्टीको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन तयारीका विषयमा समेत जानकारी दिँदै जनसङ्गठनहरूले महाधिवेशन सफल बनाउन आफ्नो भूमिका थप सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न जनसङ्गठनका प्रमुख, संयन्त्रका सदस्यहरू र जिम्मेवार नेताहरूले पार्टी अभियानका विषयमा सुझाव र धारणा राखेका थिए । बैठकले जनपरिचालनलाई प्रभावकारी बनाउन र सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।