• ९ मंसिर २०८१, आइतबार

सागर (कथा)

blog

म चम्पासँग अत्यन्तै रमाएर आफ्ना दिनचर्या अगाडि बढाइरहेको थिएँ । एउटै गमलाका दुई थुँगा फूल बनी जीवन काट्ने चाह थियो । जोडी ढुकुर भई रम्ने तीव्र आकाङ्क्षा थियो । उनलाई छाडेर एक्लै घर फर्कुंला जस्तो कहिल्यै लागेको थिएन । उनीसँग अलग्गिनु र स्वास–प्रस्वास रोकिनु एकैजस्तो लाग्थ्यो । तर समयले हाम्रो जिन्दगी दोबाटोमा ल्याई छाड्यो । आस्था, विश्वास र प्रतिबद्धताको सफा रुमालमा कालो पोतेरै छाड्यो । नदीका दुई किनार भयौँ हामी । हिजोका ती रमाइला दिनहरूका नमीठा सम्झना हृदय काट्ने छुरी बनेर बसेका छन् मेरो छातीमा अझै । 

म सरकारी कर्मचारी । आयस्रोत राम्रो थियो । चम्पाका लागि मनग्गे खर्च गर्दा आनन्द लाग्थ्यो । यावत् आवश्यकताहरू पूरा गरिदिन्थेँ । हरेक कुराहरू अभिरुचिका साथ सुन्थेँ । उनका विषयमा कहिलेकहीँ अनेकौँ जिज्ञासाहरू पनि राखिदिन्थेँ । मक्ख पर्थिन् । खुसीले फुरुङ्ग हुन्थिन् । मेरा पनि उमेरगत हरेक इच्छा, आकाङ्क्षा र आवश्यकता पूरा हुन्थे । अत्यन्त सहज भएको थियो । चम्पासँगको सहचर्यमा खुसी र आनन्दको भण्डार नै भेटेको महसुस भएको थियो । प्रफुल्ल थिएँ । अभिन्न छाया बनिरहेका थियौँ आपसमा । लाग्थ्यो हाम्रो जिन्दगी तिहारको झिलिमिली बत्ती समान उज्यालो छ । 

हाम्रा यी सबै व्यवहारहरू गोप्य थिए । औपचारिक विवाह भएको थिएन । लिभिङ टुगेदरमा थियौँ । म प्रत्येक शनिबार बाआमालाई भेट्न घर जान्थेँ । आफूले गर्नु पर्ने व्यावहारिक झमेला केही थिएन । अत्यन्त आज्ञाकारी छोरा ‘श्रवण कुमार’ बन्ने चाहना छ मनमा । व्यवहारमा शतप्रतिशत उतार्न सकिँदैन कि भन्नेमा पनि सजग थिएँ । तर यही लिभिङ टुगेदरको कुराचाहिँ स्वीकारोक्ति हुन्छ कि हुँदैन, संशय थियो । बाआमासँगको दिनभरिको भलाकुसारीपश्चात् बारीमा फलेका ताजा फलफूल र तरकारीहरू टन्नै लिएर साँझमा अपार्टमेन्ट फर्किन्थेँ । आमाले बालाई भन्नुभाथ्यो– ‘ हेर्नुहोस् हजुर ! घरमा हुँदा वरको सिन्को पर नसार्ने छोरो आफैँले पकाएर खाने भएको छ । म त सारै खुसी छु ।’ 

म उमेर पुगेको सन्तान । प्रत्येक पटक घर जाँदा लगनगाँठो कस्ने कुरा चलेकै हुन्थ्यो । बाको कम्प्युटरमा कैयौँ केटीहरूका फोटाहरू सेभ गरिएका थिए । प्रत्येक फोटाहरू फटाफट देखाउनु हुन्थ्यो ।’ तिम्रो मनले कुनचाहिँ खायो भन । योग्यता र खानदानको चिन्ता लिनुपर्दैन । यो वर्ष त कुनै पनि हालतमा काम कुरो सक्नुपर्छ ।’ तर के थाहा उहाँलाई ? उता मेरो दिलमा बास बस्न कोही आइसकेकी छन् भनेर । 

यति धेरै केटीहरूको कुरा आएका छन् । हुन पनि हाम्रो देशमा युवा जमातको खडेरी छ । तन्नेरीहरू विदेश जान बाध्य छन् । प्रायः बाहिरिइसकेका छन् । म जत्तिको सक्षम, लक्का जवानको सिलो नै खोज्नुपर्ने बेला आइसकेको छ । यस्तो अवस्थामा केटीका अभिभावकहरूले मेरो आशा गर्नु स्वाभाविकै हो । 

बाआमाले यति धेरै कर गर्दा पनि उहाँहरूसँग यथार्थ कुरा भन्न नसक्नु मेरो ठूलो कमजोरी हो । अझै संसारमा सबैभन्दा धेरै डर त बासँग लाग्छ मलाई । आँट गरेको थिएँ तर मुख बाउनै सकिनँ । के गरौँ ? उहाँहरूले कैयौँ पटक मेरो बसाइ हेर्न मन गर्दासमेत अनेक नाटक गरेर टारेको थिएँ । 

आफ्नो स्वभाव आफैँलाई अचम्म लाग्छ । एकातर्फ ठूलो आँट गरेर लिभिङ टुगेदरमा रमाउने । अर्कोतर्फ उक्त कुरा बाआमासँग उकल्न नसक्ने ? आफ्नो गहिरो चाहनालाई निर्णयमा पु-याउन असहज देखिएमा अलिकति विद्रोह गर्नुपर्ने अवस्था पनि आउन सक्दो रहेछ । त्यसका लागि साहस चाहिन्छ । सायद मैले विद्रोह गर्ने साहस जुटाउँदै थिएँ । 

एक्लो छोरा म, अत्यन्त पुल्पुलिएर हुर्किएको महसुस भएको छ अहिले । कामको नाममा एउटा सिन्को पनि भाँच्न लगाउनुभएन । ठूलै भइसक्दासम्म पनि दिदी र म खुब खेल्यौँ । म अलि झेली गर्न खोज्थेँ, थाहा पाइहाल्नु हुन्थ्यो । माया पनि अत्यन्तै गर्नुहुन्थ्यो । उहाँको र मेरो दुई वर्षको मात्र अन्तर भएकाले हामी उत्रैउत्रै अर्थात् साथीजस्तै देखिन्थ्यौँ । कतिपय कुरा आपसमा सेयर गथ्र्यौं । ऊबेला पनि लामो प्रेमपछि मात्र हाम्रो बाआमाको विवाह भएको कुरा मलाई दिदीले नै खुसुक्क सुनाउनु भएको थियो । हो, त्यतिबेलादेखि नै मलाई प्रेम विवाह मन पर्न थालेको हो । 

दिदी अन्माउने बेलामा म धेरै रोएको थिएँ । सारै दिल धर्किएको थियो । आजका दिनसम्म त्यति धेरै आँशु त कहिल्यै बगेको थाहा छैन । प्रिय दिदी पनि रुँदैरुँदै कर्म घर लाग्नुभयो । त्यो दिनदेखि म नितान्त एक्लो भएको छु । दल्हान फर्काउन आउँदा भिनाजु साथमा हुनुहुन्थ्यो । परिवेश नै छुट्टै भइदियो । 

बाजस्तै लाग्थ्यो मलाई भिनाजु । माया अत्यन्तै गर्नु हुन्थ्यो । मेरो पढाइको विषयमा सारै अभिरुचि राख्नुहुन्थ्यो । खै के जान्न खोज्नुभएको हो कुन्नि ? सुरुसुरुमा त मेरो अनुहारमा अनिमेष हेरिरहनुहुन्थ्यो । मैले पनि लुकीलुकी उहाँको अनुहारमा खुब हेर्थें । गोरो मान्छे, चिटिक्क पारेर काटिएको कपाल पातला जुँगा निकै सुहाएको थियो । भिनाजु हाँस्दा संसार हाँसेजस्तो लाग्थ्यो । सुन्दर पोसाकले झन् लावण्य थपेको थियो । 

केही दिनको बसाइपश्चात् दिदी भिनाजु फर्किहाल्नु भयो । घर नितान्त शून्य लाग्यो । दिदीको न्यास्रोले सारै सतायो । कलेजबाट फर्केपछि कहिले आफ्नो कोठा त कहिले दिदीको कोठा गरिरहन्थेँ । पढाइको स्तर पो खस्किन्छ कि जस्तो डर लाग्न थाल्यो । अलि सतर्क हुन थालेँ । उहाँको कोठालाई आफ्नो स्टडी रुम बनाएँ । त्यहाँ उहाँले सुम्सम्याउनुभएको र सजाउनुभएको प्रशस्त सामग्रीहरू थिए । जसले गर्दा थोरै भए पनि उहाँको न्यास्रो कम भएको थियो । 

नदीको पानीसरी समय बगेर निक्कै पर पुगिसकेको छ । पद, प्रतिष्ठा सम्पत्ति सबै छन् । यही क्रममा अनायास चम्पासँग भेट भएको हो । सर्लक्क परेको लामो सिल्की कपाल । सुन्दर, नशालु आँखा । ठूलो निधारमुनि उज्यालो बान्किलो अनुहार । कुनै नायिकाभन्दा कम थिइनन् । उनी पश्चिम नेपालकी सामान्य घरपरिवारकी चेली हुन् । अध्ययनको सिलसिलामा राजधानी आएर बसिन् । खर्च आफैँ जोहो गर्दै एमए पास गरिन् र अहिले लोकसेवाका लागि तयारी गर्दैछिन् । 

मेरा हाकिम, जो आफ्नो परिवारलाई कहिल्यै आफूसँग ल्याएनन् । सहकर्मीहरूले परिवारको विषयमा राखेको जिज्ञासामा गाउँमै छोराछोरीको पढाइ राम्रो रहेको र वृद्ध बुवाआमा उतै रमाउने कारण देखाउँथे । अपार्टमेन्ट फराकिलो र निकै राम्रो थियो । उनले चाहेमा पूरै परिवारलाई स्थान प्रशस्त पुग्थ्यो । छोराछोरीका लागि नाम चलेका राम्रा स्कुलहरू पनि नजिकै थिए तापनि परिवार उनको प्राथमिकतामा कहिल्यै परेनन् । उनी आफ्नै मोजमस्तीमा रमाइरहे । कुनै एउटी सुन्दरी परी सँगसँगै बस्न थालेको पनि धेरै नै भइसकेको थियो । मलाई यी दुईको सम्बन्धले गहिरो सोचाइमा डुबाउँथ्यो । निचोडमा पुग्थेँ कि हाकिमले अवश्य पनि एक दिन ती सुन्दरीको मर्ममा विश्वासघातको तीर रोप्नेछन् । उनको समर्पणमा कुठाराघात गर्नेछन् । 

चियाको चुस्कीमा रमाउँदै टेलिभिजनमा हराइरहेको थिएँ । चम्पा नजिकै आएर बसिन् । उनको अनुहारमा हेर्दा लाग्थ्यो– पक्कै पनि आज केही जरुरी मनको बह फुकाउनु छ । केही सुन्नु छ, केही सुनाउनु छ । टपक्क मेरो नाडी समाइन् । गम्भीर भएर मेरो अनुहारमा हेरिन् र भनिन्, ‘मेरी आमाको फोन आएको थियो ।’ 

आजकल उनको आमाको फोन भन्नेबित्तिकै विशेषतः मन विवाहका कुरामा नै केन्द्रित हुन्छ । के भन्नुभयो आमाले ?

अब त उमेर पुगिसक्यो । विवाह गर्नुपर्छ । बुवाले पनि सारै अत्यास मान्नुभएको छ । राम्रै ठाउँहरूबाट कुरा आइरहेको छन्, घर आऊ भन्नुभयो । 

मेरा घरमा पनि बाआमाको भनाइ यही थियो । छोरीको बाउआमालाई त झन् कति हृदय पोल्दो हो ? 

चम्पाले मनको कुरा भन्न थालिन्– अब त विवाहको कुरा चलाउनुप¥यो । सबै थोक हामीले सोचेजस्तै भइरहेको छ । मेरो पढाइ पनि त सकियो । लोकसेवामा पास हुन सकेँ भने त हामी दुवैको काम पनि सँगै मिलाउन सकिन्छ । हामी यसरी साथै बसेको छिसिक्क अरूले थाहा पाएमा घोर बेइज्जत हुनेछ । पुरुषहरूलाई त खासै के हुन्छ र ? हामी नारीहरूलाई समाजमा बाँच्न गाह्रो हुन्छ । अब केका लागि कुर्ने र ? यति भनेर चम्पाले मेरो अनुहारतिरै हेरिरहेकी थिइन् । पक्कै जवाफ पर्खेकी होलिन् । 

 मभित्र पनि अन्तद्र्वन्द्व चलिरहेको थियो । यतै वरिपरिबाट उच्च घरानाका कन्याहरूको कुरा आइरहेको थियो । भर्खरै मात्र पनि बुवाले केही फोटाहरू फर्वार्ड गर्नुभएको छ । सबै राम्रा छन् । मैले रोज्नुपर्ने छ । केटीसँग भेटघाट गर्नका लागि समय मिलाउनुपर्ने छ । तर म चम्पालाई छोड्न सक्दिनँ । बालाई भन्ने हिम्मत जुटाउन भने गाह्रो भइरहेछ । 

शनिबारको दिन घर पुगेर बाआमासँग बसिरहेको थिएँ । विवाहकै गन्थन चलिरहेको थियो । मङ्सिर सकिन लाग्यो । माघ महिना त कटाउनै हुँदैन । ३० वर्ष काटिस् । अब केलाई पर्खिने ? अरू कुनै कन्यासँग चिनजान छ भने हामी पनि हेरौँला र निर्णय गरौँला । यसरी उहाँहरूको कुरा गराइमा अलिकति लचकता पाए पनि वास्तविक चाहना मैले बुझिसकेको थिएँ । त्यसैले चम्पाको विषयमा कुरा उक्काउन सकिनँ । थाहा छ मलाई उहाँहरूको छनोटमा चम्पा पर्दै पर्दिन भनेर । 

झल्झली चम्पाको अनुहार मेरो आँखा वरिपरि नाचिरह्यो । चम्पा निर्दोष, निश्छल थिई । विश्वस्त थिई, मैमा समर्पित थिई । एउटी आज्ञाकारी शिष्याजस्तै थिई मेरा लागि । दिनभरि चर्केका घाम शीतल र सुनौलो हुँदै आए । बास बस्नका लागि आआफ्ना गुँडमा फर्कनुपर्ने सङ्केत थियो यो । फेरि पनि असम्भवजस्तै लाग्ने मेरो चाहना र बाघजस्तै लाग्ने मेरा बाका डरलाग्दा आँखाका अगाडि म नतमस्तक हुन बाध्य थिएँ । 

मेरो हातबाट सिन्को पनि भाँचिँदैन । म पूरै चम्पामा निर्भर भएको छु । उनको हातको स्वादिष्ट चियासँगै सुरु हुन्छ मेरो दिनचर्या । उनी मेरो बगैँचाकी सुवाशीली पुष्प थिइन् । उनको रूपको अनुपम सौन्दर्यले म वसिभूत थिएँ । मसिनो र मीठो बोलीभित्रको सुशीलताले जोकोहीलाई पनि लोभ्याउँछ । लाग्छ मलाई– यदि बाआमालाई म र चम्पाका बीचका सबै कुरा समयमा नै व्यक्त गर्न नसके पक्कै पनि मेरो भाग्यबाट चम्पा ओझेल हुन्छे । 

आफूले मन पराएको व्यक्तिका लागि परिआए विद्रोह पनि गर्न सक्नुपर्छ नि मैले । ठीक छ, अहिले उहाँहरूको सामुनेमा भन्दा फोनबाट मेरो चाहना व्यक्त गर्न सहज होला कि जस्तो पनि लाग्यो र ढुङ्गाजस्तै गह्रुँगो हृदय बोकेर अपार्टमेन्ट फर्कें । 

सधैँभन्दा ढिलो भएकाले सायद चम्पाको अनुहार कालो बादलले ढाकिएको जस्तो थियो । त्यसो त मेरो दिलमा पनि त तनावको त्रिशूल रोपिएकै थियो । तर उनलाई देख्नेबित्तिकै मन हल्का भयो । आधारको सानो खुड्किलो भेटेजस्तै भयो । धेरै समयपश्चात् भेटिएको पागल प्रेमीजस्तै आलिङ्गनबद्ध भयौँ । उनको मुटु पनि मेरोजस्तै द्रुतगतिमा धड्किरहेको थियो । 

सम्झेँ, बाआमाको पनि ‘प्रेम विवाह’ । झिनो आशा पलायो । साहस गरेर आमालाई सविस्तार कुरा भनेँ । सुनिरहनुभयो । खुसीले उहाँको अनुहार उज्यालो देखियो । दशैँ तिहारका फूलजस्तै ढकमक्क फुल्यो मेरो मन पनि । 

सानैदेखि बासँग गरुडको छाया परेको सर्पजस्तो हुन्थेँ म । सारै डर लाग्थ्यो । उहाँको कडा मिजास र व्यवहार एकपछि अर्को गर्दै सल्बलाइरह्यो । आमाले सबै कुरा बालाई सुनाउनुभएछ । अचानक अत्यन्त क्रुद्ध अवतारमा प्रस्तुत हुनुभयो । मेरो प्रेम, मेरो रोजाइ र भावनालाई सख्त इन्कार गर्नुभयो । खुसीले फुलेको मेरो मन क्षणभरमा नानीझारसरी वैलायो । 

हाम्रो अपार्टमेन्ट मेरा एक अनन्य मित्रबाहेक अन्य कोही कसैले देखेका थिएनन् । ढुक्कै थिएँ । चम्पा र म दुःख सुखको गफ गर्दै अस्तव्यस्त बसिरहेका थियौँ । कसैले ढोका नक ग-यो । अचानक तिनै अनन्य मित्र र बालाई आफ्ना अगाडि ठिङ्ग उभिएको देख्दा सातो उड्यो । आँखै तिर्मिराए । पुलिस अफिसरको अगाडि रङ्गे हात चोरजस्तै भएँ । कसरी ती मित्र र बाको भेटघाट र परिचय भयो थाहा पाउन सकिनँ । हरदम मुस्कुराउन चाहने मेरो अनुहार एक्कासि औँसीको रातसरी भयो । 

ठूलाघरसँग सम्बन्ध जोड्ने बाको लालसाका लागि मैले बलिको बोको हुनुपर्ने दिन सामुन्नेमा आइसकेछ । बाले मेरो कठालो टपक्क समातेर बाहिर धकेल्नुभयो । चम्पातर्फ हान्ने राँगोले जस्तै हेर्नुभयो । लाग्थ्यो, मौनतामै उनीप्रति संसारभरका सबै अपशब्दहरू ओकलिरहनु भएको छ ।        

गाडीमा चढ्नेवित्तिकै चम्पालाई म्यासेजबाटै आस्वस्त पारेँ । हतकडी लागेको अपराधी जेलभित्र पसेझैँ लुरुलुरू घभित्र पसेँ । बा सोफा नै भाँचिएलाझैँ गरी भ्यात्त बस्नुभयो । यसबाट पनि उहाँको आक्रोशको मात्रा अन्दाज गर्न सकिन्थ्यो । त्यहाँ आमाको अत्यासको गति झन् पराकाष्ठामा थियो । 

केरकारको सिलसिला चलिरह्यो । टेप टाँसिएझैँ मेरा ओठ खुलेनन् । केही सीप नलाग्ने देखेर होला सायद आमाका वाणी निस्कन थाले । ‘एक पटक बाटो बिरायौ, अब त्यो केटी छोडिदेऊ ।’ समस्याको समाधानतर्फ लाग्नुपर्छ । अपार्टमेन्टमा नबस, घरै आऊ । आजै गएर खाली गरिदेऊ । उहाँको बोलीमा केही नरमपना थियो । तर बाको आँखाबाट भने अझै आगोको ज्वाला निस्कन्छ कि जस्तो देखिन्थ्यो । 

सायद मैले अति नै विश्वास गरेको मित्रले बालाई भने होलान् । अहिलेका युवाहरूको सोच अनुरूप उनै स्वयं पनि लिभिङ टुगेदरमा नै छन् । के म पनि कुरा लाउन उनका बाउआमालाई खोज्दै जाऊँ ? यो विषयमा उनीबाट त ठूलो सहयोगको अपेक्षामा पो थिएँ । तर उनको तुच्छ विचार र व्यवहारबाट म आश्चर्यचकित भएँ । 

सपना चकनाचुर भएको छ । निदाउन त कसरी सक्थेँ र ! बेलुका घरै आउने वाचासहित आमासँग बिदा मागेर बिहानै हिँडे । बाटोबाटै अफिस नआउने जानाकारी गराएँ । चम्पालाई कल गरेँ र एउटा प्रतिष्ठित होटेलमा बोलाएँ । चम्पाले शङ्का गरिसकेकी छन् । उनी पनि फुस्रो, धुस्रो र अनिधो देखिन्थिन् । 

सायद अन्तिम आलिङ्गन ! धेरै बेर धुकधुकी महसुस गरिरह्यौँ, आँशुले एक अर्काको कुम भिजिरह्यो । वर्षौं वर्ष विछोडिएर भर्खर मिलन भएका युगल प्रेमीसरी मौनतामै हज्जारौँ सवाल जवाफ भइरहे । कसैको पर्वाह भएन त्यहाँ । अँगालो झन् कसिलो भयो । माया र आकर्षण पनि अनौठाकै हुँदो रहेछ । चम्पाका खातिर मन र मुटु सर्लक्कै चुँडेर दिन तयार छु तर निस्ठुर समयले भने सकेको चाँडो छुट्याउन लागिपरेको छ । 

 सम्पन्न बाउको छोरो भएको नाताले पैसाको कुनै दुःख थिएन मलाई । अहिलेसम्मको आफ्नै आर्जन पनि सबै थेग्रिएकै थियो । चम्पाको निरिह अनुहार देख्दा कटक्क मुटु खायो । दुई मुटु जोडिन नसके पनि उनलाई कुनै दुःख नहोस् भन्ने सद्भाव पलायो । खातामा प्रसस्त रकम ट्रान्सफर गरिदिएँ । जसबाट आर्थिक अभाव नामक हाडे ओखर सजिलै फोर्न सकून् । उनले विवाह पनि त गर्नुप¥यो । 

क्रुर समयले आफूहरूलाई कत्ति पनि साथ नदिएको कुरा चम्पाले राम्ररी बुझिरहेकी थिइन् । यति धेरै रकम आफ्नो खातामा पठाएकाले अब उनलाई सबै कुरा प्रस्ट भयो । गहभरी आँसु पारेर भक्कानिँदै चम्पाले भनिन् । जसरी पनि बाआमालाई मनाउछु भनेका थियौ । त्यति आँट पनि गरेनौ ? मेरो भावनासँग मज्जाले खेल्यौ, शरीरसँग खेल्यौ । सकियो अब मसँगको भूमिका ? ऊ अधीर थिई । मेरो मनमा भने जन्मकैद पाएको कैदीको जस्तै निष्पट्ट अन्धकार मडारिन थालेको थियो । हृदयमा विछोडको नमीठो धुन गुन्जिरह्यो । 

अब हामी दुवैलाई समुद्रको वेगवान् छालभन्दा द्रुत गतिको नियतिले अन्तै पछारेको छ । म धेरै लाचार छु । सँगै जिउने र मर्ने वाचा गरेका हामीलाई समयले यसरी दुई किनार बनाइदियो । आखिर छुट्याएरै छाड्यो । 

प्लेनको टिकट काटिदिएँ । चम्पाको प्लेन उड्यो, सँगसँगै मेरो रहर उँड्यो, सबैथोक उडे । देखिउन्जेलसम्म हेरिरहेँ । यस्तो नमीठो, दुःखद अनुभूति कहिल्यै भएको थिएन । अनायासै हृदय छाम्न पुगेँछु । सायद उनलाई मुटुजत्तिकै अमूल्य र महìवपूर्ण मानेको थियो अन्तर्आत्माले । 

बेलुका आमाको हातको परिकार मीठै थिए हुनन् । विक्षिप्त मन मुटु र विछोडको पीडाले गर्दा ढुङ्गा, माटो चपाएसरी भयो । चम्पाले पुगेर एक कल फोन पनि गरिन् । म आफैँले कोसिस गरेँ । उठेन । यो क्रम दिनदिनै चलिरह्यो । तर सफल भइनँ । उनलाई प्रस्ट भइसकेको छ अब मसँग कुरा गरेर कुनै फाइदा छैन । 

चम्पा मेरा लागि हरेक पक्षबाट हेर्दा उचित केटी थिई । अब मात्र उनको याद धुन भएर गुन्जिरहने छ मेरो मनभरि । जून बनेर टल्किरहने छ । अब बाआमाको रोजाइको केटी चम्पा जत्तिको सक्षम र खुबी भएकी हुन्छे भनेर म विश्वस्त हुन कहिल्यै सक्तिनँ । 

बेलुका बाले प्रतिष्ठित परिवारको छोरीको कुरा आएको प्रसङ्ग फेरि सुनाउनुभयो । फोटो पनि देखाउनुभयो । राजधानी निवासी सम्भ्रान्त परिवारको चेली । तर धनबाहेक कुनै कोणबाट हेर्दा पनि चम्पाभन्दा उत्तम देखेन मेरो विवेकले 

कहिले चम्पासँग रमाएको सपना देख्छु । कहिले दुःखी, निराश त हुन्छु नै त्यसमाथि डिप्रेसनमा नै पो जान्छु कि जस्तो लाग्छ । एक मनले सोच्छ– मान्दिनँ बाउआमा पनि । खुरुक्क गएर ल्याउँछु चम्पालाई । गरिदिन्छु घोषणा विवाह भइसक्यो भनेर । के जिन्दगी बिताउनुपर्ने मान्छे पनि आफूले रोज्न नपाउने ? फेरि सबै परिवेश सम्झेर ल्याउँदा वैलाएको सागजस्तै हुन पुग्छु । 

सम्झन्छु, स्नातकोत्तर पढ्दै गरेकी एउटी शालीन र सुन्दर केटीलाई पट्याउनका लागि पापड बेल्नुपर्दाको क्षण । धेरै प्रतिबद्धताहरूमा आबद्ध हुँदाको पल । सुन्दर सपनाहरूका माला उनिएका समय । सबै बेकार भए । एउटा चलचित्रमा झैँ अचानक कथा पटाक्षेप भइदिँदा किंकर्तव्यविमूढ भएको छु । 

समयको बहावसँगै कति धेरै परिवर्तनहरू भएका छन् परिवेशहरू । चम्पासँग छुट्टिएपश्चात त्यही समयले एकान्तप्रेमी बनायो । अन्तर्मुखी बनायो । बिस्तारैबिस्तारै आफ्ना अनुभूतिहरू लेख्ने बनायो । केही वियोगान्त गीतहरू रेकर्ड पनि भइसकेका छन् । ती गीतहरू स्रोताहरूले अत्यन्त मन पराइदिएका छन् । उनै चम्पालाई सम्झेर भावनामा बग्दाका ती गीतहरू प्रायः सबै रेडियोहरूबाट गुन्जिरहेकै हुन्छन् । 

अब मैले चम्पालाई सम्झिन पाउने अधिकारबाट पूरै वञ्चित भएको छु । मायासँग लगनगाँठो कसिइसकेको छ । उनैसँग हाँसिदिनुपरेको छ । लोलीबोली मिलाई दिनुपरेको छ तापनि कहिलेकाहीँ त चम्पाको नाम फुत्किहाल्दो रहेछ । जसले गर्दा धेरै पटक अप्ठ्यारोमा परेको छु । 

विवाहपश्चात् बाआमा तीर्थाटनका लागि हिँडिहाल्नु भयो । सिन्को नभाँचेको मान्छेलाई दिनचर्या अत्यन्त असजिलो हुन थाल्यो । मायाको र मेरो कार्यालय, समय, पदसमेत एउटै भएकाले सँगै निस्कन र सँगै फर्कनचाहिँ सजिलो भएको छ ।  

मायाले आधा काम सरक्कै भाग लगाउँछे । छन त घरमा काम गर्ने मान्छे पनि छ । अरूबाट काम लिन पनि त ढङ्ग चाहिँदो रहेछ । बिहानभरि अलिअलि काम गरेजस्तो गरेर ऊ गइहाल्छ । बाँकी काम सबै आफैँले सक्नुपर्छ । 

बिहानको पाँच बजिसकेको थियो । बाहिर चराचरुङ्गीको सुमधुर आवाज कानसम्म आइपुगेकाले आँखा पनि उघ्रियो । तीर्थाटनको नाममा घुम्न जानुभएको बाआमालाई सम्झेँ । चियाको कपसम्म पनि उठाउन नदिने चम्पा त कहिले सँगै सुतिरहेकी अर्धाङ्गिनी सम्झेँ । एक्कासि लामो उच्छ्वास निस्कियो । सँगै सुतिरहेकी मायाले पुलुक्क मतर्फ दृष्टि लगाई । 

सागर ! मैले पुलुक्क मायाको अनुहारतर्फ हेरेँ । मुसुक्क हाँसी र भनी ‘फ्रिजमा अलिकति हिजोको दूध बाँकी छ । जाऊ न मीठो चिया बनाएर लेऊ ।’ म आज्ञाकारी शिष्य जस्तै जुरुक्क उठेँ र लुरुलुरु भान्सामा गएँ । 

जिन्दगी भन्नु नै अनुभव र अनुभूतिहरूका सँगालो त रहेछ । स्वार्थवश बलैले गाँसिएको मायाभन्दा निःस्वार्थ झ्याँगिएको माया पो सफल हुन्छ त । आफूभित्र सुटुक्कै आएर निःस्वार्थ आत्मीयता मिसाउनेहरूबाट जिन्दगी ऊर्जावान् र उल्लासित हुने होइन र ? तब न बगैँचामा फक्रिएर मुस्कुराइरहेका फूलहरूजस्तै प्रफुल्ल र शान्त हुन पुग्छ जिन्दगी । 

यस्ता अनेकौँ भोगाइबाट मैले सिकेका र सिक्दै गरेका अनुभूतिहरू मनभरि लाइन लागेर तरङ्गित भइरहेछन् तापनि मनमोहक विगत सर्लक्कै भुलेर वर्तमानमा रमाउने कोसिस गरिरहेछु । 

चिया उम्लेर कुन बेलादेखि चुलोमुनि ताल बनिसकेछ । ताप्केमा बचेको चिया डढेर गन्ध आउन थालिसकेको मैले पत्तै पाइन । माया मेरो सामुन्नेमा उग्रचण्डीसरी उभिइरहेकी थिई । 

गोरखा बजार, हाल : म्याडिसन, अमेरिका