• ६ जेठ २०८१, आइतबार

गाउँको गरिमा

blog

भनिन्छ आफूलाई जन्म दिने आमा र आफू जन्मेको धरती नै संसारमा सबैभन्दा प्रिय हुन्छन् । हिउँदमा हिउँ परेर धेरै चिसो हुने, जाडाले मुटु नै कमाउने, पानी छुन मनै नलाग्ने भए पनि आफू जन्मेर पहिलो स्पर्श गरेको, ताती गर्दै पाइला चाल्न सिकेको धर्ती, त्यहाँका डाँडापाखा, उकाली ओराली नै प्रिय लाग्दा रहेछन् । भौतिक रूपमा सम्पन्न ठाउँमा पुग्दा पनि मलाई त्यहाँको सुस्मृतिले चिमोटिरहने गर्छ । बर्खामासमा भुइँकुहिराले ढपक्कै छोप्ने, झरी परेर साता दिनसम्म नउघ्रने, घरबाट बाहिर निस्कँदा जुका लाग्ने भए पनि मधेसका सम्म परेका फाँट तथा काठमाडौँका गगनचुम्बी महलभन्दा माटाले लिपिएको झुप्रो घर भएको त्यसै ठाउँको बढी माया लाग्दो रहेछ । भौतिक उन्नतिले झरिझुट्ट भएका क्षेत्रमा पुग्दा पनि विपन्नता र प्राचीनताको प्रतीकका रूपमा रहेको र प्राकृतिक अवस्थाको त्यही गाउँको याद झलझली आइराख्दो रहेछ । 

बिहान उठ्नेबित्तिकै संसारकै सर्वोच्च शिखर सगरमाथा तथा गौरीशङ्कर हिमालका श्वेतहिमशृङ्खलाको दर्शन गर्न पाइने सिन्धुली जिल्लामा पर्ने महादेवडाँडाको पाथीभरा नागदह गाउँमा मेरो जन्म भएको हो । यो गाउँ अहिले फिक्कल गाउँपालिकाअन्तर्गत पर्दछ । म अहिले जहाँ रहेबसे पनि हृदयमा त्यहीँका डाँडापाखा, हरियालीपूर्ण वातावरण, प्रकृतिको रमणीय स्थल जन्मभूमिको सुन्दर तस्बिर हाँसिरहेको छ । स्वच्छ परिवेश, चिसो हावापानी, वरिपरि अग्ला पहाडहरूले परिवेष्टित नागदह गाउँमा धेरै ठूलो बस्ती थिएन । हाम्रो घर नजिकै तुलसीराम हजुरबाको घर थियो । नागदहका काफ्लेहरूका २०÷२५ घर मात्र थिए । हाम्रा पुर्खाहरू दोलखाबाट सिन्धुलीको सुम्नाम हुँदै यस ठाउँमा आइपुगेका थिए ।  यिनै बन्धुबान्धव आपसमा असाध्य मिलेर बसेका थिए । 

बस्ती पातलो थियो । घरगोठ टाढा टाढा हुन्थे । नजिकै बारीमा खेती गरिन्थ्यो । घरघरमा गाईभैँसी, बाख्रापाठा पाल्ने गरिन्थ्यो । मकै, फापर, जौ, कोदो, भटमास जस्ता बाली लगाइन्थे । धान फल्ने खेत कसैका थिएनन् । रायो, मुला, सिमी, बोडी जस्ता तरकारी बारीमा नै फल्थे । बर्खामा काँक्रो, फर्सी, स्कुस खाइनसक्ने गरी फल्थे । बस्तुको मल प्रशस्त हुन्थ्यो । बारीमा मलको कमी हुँदैनथ्यो । गोरस–दूध, दही, मही, घिउ आदि)को कुनै अभाव हुँदैनथ्यो । रातदिन परिश्रम गर्दा लेकमा पनि पसिनाका धारा बग्थे । दिनभरिको परिश्रमले जस्तोसुकै खानेकुरा पनि सजिलै पच्थ्यो । परिश्रमी किसान जहिलेसुकै हट्टाकट्टा हुन्थे । पुरुषहरू बिहानै उठी गाईबस्तुलाई घाँस हाल्ने, दूध दुहुने, कुँडोखोले आदिको व्यवस्थामा लाग्थे । महिलाहरू पँधेरा जाने, घर बडारकुँडार, लिपपोत र भातभान्सातिर लाग्थे । बिहानको खानेकुरा खाएपछि कोही बस्तु चराउन बन जान्थे, कोही बारीका काममा निस्कन्थे ।  त्यस गाउँमा पहिले स्कुल तथा स्वास्थ्य चौकी थिएनन् । केही काम गर्नसक्ने बालबालिका पनि  खेतीपाती र पशुपालनमा नै लाग्थे, लगाइन्थे । 

मङ्सिर, पुस र माघ यी तीन महिना त्यस गाउँमा असाध्यै जाडो हुन्थ्यो । त्यो गाउँको उत्तरतिर उभिएको फिक्कल डाँडामा सेतै हिउँ पथ्र्यो । गाउँको पश्चिमतिर नागदह भन्ने तलाउ थियो । युगौँ पहिले यस तलाउमा एउटा नाग रहने गथ्र्यो । यस गाउँमा बासिन्दाले त्यस तलाउमा बस्ने नागको यथाशक्य पूजा गर्ने गर्थे । नागले तलाउबाट बाहिर निस्केर गाउँलेको केही कुभलो गर्दैनथ्यो । त्यसै नागले संरक्षण गरेको गाउँ भएको हुनाले यस गाउँको नाम नागदह रहेको हो भन्ने किंवदन्ती गाउँका बूढापाकाले सुनाउने गर्छन् । हरेक वर्ष नयाँ मकै बाली पाकेपछि चार बोट मकै नागलाई चढाएर मात्र आफूले खाने चलन अद्यापि त्यस गाउँमा छँदै छ ।  हिउँदमा हिउँ पर्नाले त्यस तलाउको पानी ढुङ्गा जस्तै साह्रो भएर जम्ने गथ्र्यो । हामी त्यहाँ ढुङ्गा हान्ने गथ्र्यौं तर जमेको हिउँ फुट्तैनथ्यो । हिउँदमा तुसारो तथा हिउँले पातला पात हुने वनस्पति सबै सुक्ने गर्थे । सल्लो, खस्रु, काफल, अर्खौलो, कटुस, चाँप, गोगन जस्ता रुखका पात कडा र बाक्ला हुनाले ती ठन्डीमा पनि सुक्तैनथे । बाक्लो तुसारो परेपछि जमिनमा उम्रने दुबो, खर, खरुकी, सालिम्बो जस्ता घाँस चिरिप्प सुक्ने गर्थे । जाडो महिनामा गाउँलेहरू बिहान बेलुका घरैमा बस्थे र आगो ताप्ने गर्थे । दिउँसो घाम लागेका बेलामा बाहिरका काम गर्थे । जाडो बेलामा गाईवस्तुलाई दिने हरियो घाँस हँुदैनथ्यो । त्यतिखेर कोदाको सुकेका नरुवा, फापरका गट्टे, मकैका ढोड तथा खोस्टा आदिमा नुन छम्केर दिने गर्थे । दूध दिने लैना गाईवस्तुलाई मकैको पिठाको खोले पकाएर पानीमा घोली पातलो बनाएर दिन्थे । माघ महिनाको अन्त्यतिर वनमा सुकेका घाँस तथा बुटामा आगाको झिल्को पर्नासाथ डढेलो लागेर वन नै सखाप हुन्थ्यो । चैत लागेपछि बिस्तारै गर्मी चढ्थ्यो । तुसारो तथा हिउँको ठन्डीले चौरमा सुकेका घाँस तथा बुटाबुटीमा नयाँ पालुवा पलाउँथ्यो । वातावरणमा नयाँ जीवनका रङहरू पोतिन थाल्थे । परिवेशमा हरियाली छाउँथ्यो । अब किसानका दिन फर्कन्थे । तिनका गाईवस्तुका लागि प्रकृतिले आहार जुटाइदिन्थ्यो । गोठालाहरू घर वा गोठमा थुनिएका गाईबाख्रा लिएर वन तथा नागीमा जान्थे । आफू डाँडामा बस्थे । गाईबाख्रा वनपाखामा चरेर डम्म अघाउँथे । गाउँलेका गाईभैँसीलाई पानी खुवाउने साझा थलो नागदह नै थियो । यस तलाउको पानी कहिल्यै सुक्दैनथ्यो । बर्खामा पानी पर्दा यो भरी भएर निकास बोझे धापतिर झथ्र्यो भने हिउँदमा हिउँ वा तुसारो पर्दा पानी नै जम्ने गथ्र्यो ।  

यहाँका जङ्गलमा अँगेरी, चुत्रो, घँगारु, ऐँसेलु, गुराँस, काफल, उत्तिस आदिका रुखबुटा हुन्थे । रुदिलो भन्ने वनस्पति वनपाखाभरि नै टन्न हुन्थ्यो । वैशाख जेठतिर यहाँका वनमा राताम्मे भएर काफल पाक्थ्यो । हाम्रो घरको पूर्वतिर ठूलो थुनुवा भन्ने जङ्गल थियो । त्यो जङ्गल हाम्रै बाको सक्रियतामा थुनिएको थियो । हाम्रो घरदेखि पूर्व, चिहानडाँडादेखि पश्चिम, माझखर्कभन्दा उत्तर र खुदुर्की खोला दक्षिणतिर फैलिएको यस जङ्गललाई स्थानीयको पहलमा थुनिएको हुनाले यसको नाम नै थुनुवा राखिएको थियो । यस जङ्गलमा गाउँलेलाई घाँस दाउरा काट्न पूर्ण रूपमा प्रतिबन्ध थियो । वनका काफल, ऐंसेलु जस्ता फल टिपेर खान कुनै थुनछेक थिएन । काफल पाक्ने बेलामा बाले मलाई बिहान सबेरै उठाएर हातमा एउटा काठको ढुङ्ग्रो (दूध दुहुने वा दहीमोही सार्ने वा खन्याउने दार वा खमारीको झुन्ड्याउन मिल्ने भाँडो)थमाई काफल टिप्न वनमा पठाउनुहुन्थ्यो । विशेषगरी गर्जेटार भन्ने ठाउँमा ठूलाठूला काफलका रुख थिए । मसँग गाउँका अरू एक दुई जना साथी पनि हुन्थे । हामी पहिले आफूले लगेका भाँडा काफल टिपेर भरी पाथ्र्यौं । त्यसपछि पाकेका काफल आफू नअघाएसम्म बुटाबाट टिपेर खान्थ्यौँ । त्यसपछि काफल लिएर घर आउँथ्यौँ । घरमा काफलको ढुङ्ग्रो जिम्मा लगाएपछि भात खाएर स्कुल जान हतार भइसकेको हुन्थ्यो । वनमा ऐँसेलु पाक्दा पनि त्यसै गरिन्थ्यो । काफलभन्दा ऐँसेलु टिप्न गाह्रो हुन्थ्यो । काफलका रुख ठूला र अग्ला हुन्थे तर ऐँसेलुका होचा अनि काँडादार । ती दिनहरू सम्झँदा अब त्यस्तो अवसर कहाँ मिल्छ र ? जस्तो लाग्ने गर्छ । 

हामी पढ्न जाने स्कुल थुनुवा जङ्गलको बाटो भई चिहान डाँडाको ओरालो झरी पुगिने काउले भञ्ज्याङनिर थियो । हामीभन्दा पहिलेका बालबालिकाले त्यस स्कुलमा पढ्न पाएनन् । त्यसैले गाउँका बालबालिकाले पढ्न पाऊन् भनेर हाम्रा बाको क्रियाशीलता र सबै गाउँलेको सहयोगमा २०१९ सालमा त्यो स्कुलको स्थापना भएको थियो । बाटाको छेउमा अग्लो डाँडो काटेर बनाइएको त्यो स्कुल गाईभैँसी बाँध्ने गोठजस्तै थियो । घरभरिको एउटै कोठा ह्वाङ्ग थियो । डेस्कबेन्च केही थिएनन् । विद्यार्थीले आफूलाई ओछ्याउने गुन्द्री वा पिरा आफैँले लैजानुपथ्र्यो । लेखपढ गर्नुभन्दा पनि त्यति बेला गाउँका साथीसँग भेट्नु र खेल्न पाउनु ठूलो खुसीको विषय थियो । त्यही नै रमाइलो थियो । स्कुलको पूर्वतिर फराकिलो मैदान थियो । त्यहाँ हामी खेल्थ्यौँ । मैदानमा कुनै पर्खाल तथा घेराबारा केही थिएनन् । त्यहाँ खेल्दा उछिट्टिएर लडेमा मान्छेको नामोनिसान रहँदैनथ्यो । मैदानको उत्तरतिर रुखबुटा भएको पाखो थियो भने त्यसको तल खोलो बगिराखेको हुन्थ्यो । दक्षिणतिर चाहिँ खरबारीको पाखो थियो । दुईतिर पाखो भएको ठाउँको त्यो स्कुल डाँडामा थियो । त्यस स्कुलको स्थापना कालको केही समय हाम्रा ठूला दाजुले पनि त्यहाँ पढाउनुभएको थियो । पछि मधेसबाट एक जना शिक्षक ल्याइएका थिए । उनी हाम्रै घरमा बस्ने गर्थे । उनले दिउँसो स्कुलमा र बिहानबेलुका घरमा हामीलाई ट्युसन जस्तै पढाउने गर्थे । हाम्रा लागि उनी गुरु र साथी दुवै थिए । हाम्रै भान्सामा भोजन गर्ने भएकाले उनी परिवारका सदस्य नै बनेका थिए । बिहानको खानेकुरा खाई हामी उनीसँगै थुनुवा जङ्गलको बाटो स्कुल जान्थ्यौँ । चार बजेपछि उनले हामीलाई सँगसँगै लिएर घर फर्कन्थे । 

स्कुलको छेउबाट पूर्वतिरका भोटेगाउँ, कामीगाउँ र पाथीभरा गाउँतिर जाने मूलबाटो थियो । बाटामा दोहोरीलत्त मानिस हिँडिरहन्थे । स्कुलबाट पूर्वतिर अलिकति तेर्सो बाटो हिँड्दै जाँदा बाटामुनि एउटा घर पनि तामाङको नभएको  भोटेगाउँ भन्ने पातलो बस्ती थियो । त्यहाँ अधिकांश विश्वकर्माको बसोबास थियो । उनीहरू खेतीपाती र बन्दबेपारमा रमाएका थिए । कसैकसैले सुनचाँदीका गरगहना बनाउँथे । कसैले फलामका हतियार बनाउने र अर्जाप्ने काम पनि गर्थे । भोटेगाउँमा त्यस बेला चर्चित सरुमान विश्वकर्मा नाउँका किसान तथा बेपारी थिए । त्यस गाउँमा तिनको सबैभन्दा ठूलो घर थियो । तिनी कहिले काहीँ हाम्रो घरमा पनि आउने गर्थे । उनी बाहिरबाट सुनचाँदीका गहना र लत्ताकपडा ल्याउँथे र घरघरमा लगेर बेच्ने काम गर्थे । मसँगै पढ्ने त्यस गाउँका चेतबहादुर, वीरमान, पूर्णबहादुर नामका साथी थिए । 

त्यो स्कुलमा भोटेगाउँको पूर्वतिर अलिपरको पाथीभरा गाउँका विद्यार्थी पनि पढ्न आउँथे । त्यस बेला गाउँका छोरीहरू भने कोही पनि पढ्न स्कुल आउँदैनथे । सायद अभिभावकले नै छोरीहरूलाई स्कुल पठाउँदैनथे । केटाहरू सबै एकै ठाउँमा बसेर पढ्थ्यौँ । सबै साथीका बीचमा आत्मीयता र स्नेह थियो । त्यसबेला कुनै तनाव थिएन र कुनै महìवाकाङ्क्षा थिएनन् । भोकाएका बेलामा भरपेट खान पाए हुन्थ्यो अनि आफ्ना मनपर्ने साथीसित खेल्न र रमाउन पाए हुन्थ्यो । अरू कुनै तिर्सना थिएन; कुनै नयाँ संसारको परिकल्पना थिएन ।   

अहिले म त्यो जन्मभूमिबाट अलि टाढा पुगेको छु । जति टाढा पुगे पनि हृदयमा त्यहाँको सुन्दर तस्बिर हाँसिरहेको छ । मनमा त्यहाँका रमाइलो स्मृतिचित्र नाचिरहेको छ । त्यहाँ बिताएको सुन्दर बालजीवनको सम्झना झलझली आइरहेको छ । त्यसैले त्यो प्यारो गाउँ नागदहमा कैले पुगूँ  र मातृभूमिको स्नेहमा लुटपुटिऊँ जस्तो लागिरहेको छ ।