• ८ मंसिर २०८१, शनिबार

नेवार समुदायमा मनाइने चाड पाहाँचह्रे

blog

काठमाडौँ, चैत ६ गते । काठमाडौँ उपत्यका जात्रा र पर्वले धनी मानिन्छ । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकावासीले पाहाँचह्रे मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौँ दिनलाई भनिन्छ ।

यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद् चुन्द्रा वज्राचार्य बताउनुहुन्छ । उहाँले यो चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दशैँ र तिहारजस्तै मनाउँदै आएको पनि स्मरण गर्नुभयो । यस दिन बालबालिका, युवकयुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुराहरू खाई चाड मनाउने वज्राचार्यको भनाइ छ । 

उहाँका अनुसार पाँहाचह्रेका दिन मुख्यतया समय्बजी खाने चलन छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायतका परिकार खाइन्छ । स्थानीय पुजारी राजन महर्जन भन्नुहुन्छ, “विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।” “यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ,” उहाँ भन्नुहुन्छ, “लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ ।” घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । 

यस्तै कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ । पाहाँचह्रे पर्वको दोस्रो घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइने गरिन्छ । ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । 

पाहाँचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टी–सर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । 

पुजारी महर्जनले पहिले असनमा सात खट जात्रा गरि ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको जानकारी दिनुभयो । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को हुन्छ । “असनमा खट जुधाउने भनेर भनिए पनि खट नै जुधाइँदैन,” उहाँले प्रस्ट पार्नुभयो । जात्राको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा हुन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङ्गका टोपी र टी–सर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।