• ५ चैत २०८२, बिहिबार

‘खरिदकर्ताले नै मेरो कलाको मूल्य राख्छन्’

blog

चित्रकलामा कलात्मक शैली र भावनात्मक अभिव्यक्तिका लागि चिनिनुहुन्छ कलाकार प्रतीक रायमाझी । सानै उमेरदेखि क्यानभास, कुची र रङसँग लतपतिँदै आजका दिनसम्म आइपुग्दा उहाँले धेरै चित्र बनाउनुभयो । उहाँले पिता जितबहादुर रायमाझीसँग चित्रकलाको ज्ञान लिनुभएको हो । बुवाको पदचाप पछ्याउँदै मिथिला कलामा लाग्नुभएका कलाकार रायमाझीसँग चित्रकारिताका विषयमा केन्द्रित भएर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :  

 मिथिला लोककलाको अवस्था के छ ? 

नेपालको हकमा केही पनि भएको छैन । अझै एक डेढ दशकसम्म मिथिला लोककलाको क्षेत्र केही होला जस्तो लाग्दैन । एकाध मिथिला लोककलाकारले विदेशमा प्रदर्शनी गर्दै आएको पाइन्छ । साथीभाइलाई बोलाएर गरिने यस्ता प्रदर्शनीले मिथिला लोककलाको अवस्था अझ खस्किन्छ । 

मैले सुरुदेखि नै मिथिला लोककलालाई नै लिएर हिँडेँ । निरन्तर एक्लै लागिपरेँ । पछि एउटा बलियो समूह पनि बन्यो । विदेशका विभिन्न ग्यालरीमा मिथिला चित्रकलाको प्रदर्शनी गरिरहेको छु । मेरो आफ्नो एउटा छुट्टै ब्रान्ड जस्तै पनि बनेको छ, जसका कारण प्रदर्शनीका लागि समय कुर्नु पर्दैन ।

 मिथिला कलामा नेपालमै केही गर्न सकिन्थ्यो होला, किन विदेश नै रोज्नुभयो ? 

नेपालमा मैले कोसिस नगरेको होइन । म एक्लो व्यक्ति थिएँ, जसले व्यक्तिगत लगानी गरेर मिथिला लोककलाको कार्यशाला नियमित गरिरहन्थेँ । तराईमा फेरिएको राजनीतिक परिवेशले मिथिला लोककलामा पनि प्रभाव पा¥यो । त्यसैले पनि मैले मिथिला कलामा काम गर्ने खासै राम्रो वातावरण बनेन र विदेशी भूमिमा पुगेर सङ्घर्ष गर्नु प¥यो । विदेशी भूमिमा मिथिला कलाकारका रूपमा नै म सक्रिय छु । तथापि अझै धेरै गर्न बाँकी छ ।

 विदेशमा बसेर मिथिला कलाको विकास सम्भव छ ?

आफ्नो यात्रामा म आफैँ एक्लै हिँडेँ । एक्लै हिँड्दाको अनुभव सँगाल्ने अनुभव बटुले, जसले मलाई एक्लै अघि बढ्न एकदम सहज बनायो । त्यसैले म आफ्नो एउटा छुट्टै पहिचान बोकेर विदेशी भूमिमा स्थापित छु । अमेरिकाको ५० राज्यमध्ये ४८ वटा राज्यबाट कला सम्बन्धित कार्यक्रममा आमन्त्रित हुने अवसर पाइरहन्छु । यो मेरा लागि मात्र नभएर देशकै लागि ठुलो कुरा भएन र ? 

अमेरिका र नेपालमा कला प्रदर्शनी गर्दाको भिन्नता के पाउनुभयो ? 

नेपालमा प्रदर्शनी एउटा रेकर्ड जस्तो मात्र हो तर अमेरिकामा प्रदर्शनीले एउटा कलाकारको हैसियत पाउँछ । ऊ कला क्षेत्रमा चिनिन्छ । ऊर्जा हौसला पाइरहन्छ तर नेपालमा बिरलै मात्र केहीले पाउँछन् । यो एकदमै तितो सत्य हो । 

कलाबाट आम्दानी पनि राम्रो हुन्छ होला, त्यता ?

त्यो आफ्नो काम, मेहनत, विषयवस्तु अनुसारको हुन्छ । मेरो हकमा म एउटा भाग्यमानी कलाकार हुँ जसले आजसम्म आफ्नो कुनै पनि कलाकृतिमा मूल्य राख्नु परेको छैन र राख्दिनँ पनि । मेरो चित्रकलाको मूल्य स्वयम् खरिदकर्ता आफैँले अक्सन निर्धारण गरिदिने भएको हुँदा मैले राम्रै मूल्य पाइरहेको छु ।