अमरराज नहर्की
तनहुँ, चैत ५ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि तनहुँमा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार यस वर्ष जिल्लाभर कुल ६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ।
इकाइका सूचना अधिकारी भरत बरालका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ ४ हजार ९४० जना र ग्रेडवृद्धितर्फ १ हजार २१५ जना रहेका छन्। जिल्लाका १७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू यस वर्षको परीक्षामा सहभागी हुँदैछन्। परीक्षालाई व्यवस्थित बनाउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाभर २२ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।
सूचना अधिकारी बरालका अनुसार व्यास नगरपालिकाभित्र निर्मल माध्यमिक विद्यालय भादगाउँ, जलदेवी माध्यमिक विद्यालय भादगाउँ, सत्यवती माध्यमिक विद्यालय दमौली, बालमन्दिर माध्यमिक विद्यालय दमौली, महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय र चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय कुमालटारीलाई परीक्षा केन्द्र तोकिएको छ। त्यसैगरी अन्य क्षेत्रमा महेश संस्कृत गुरुकुल देवघाट, मित्रता माध्यमिक विद्यालय सत्रसय, पवित्रा माध्यमिक विद्यालय पिप्ले, भानु माध्यमिक विद्यालय बन्दीपुर, होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालय नारेश्वरटार, चोक माध्यमिक विद्यालय रामपुरेटार, मिन माध्यमिक विद्यालय थर्पु, सरस्वती नमुना माध्यमिक विद्यालय खैरेनीटार, खैरेनी माध्यमिक विद्यालय खैरेनीटार, पञ्चमुनी माध्यमिक विद्यालय दुलेगौंडा, हंशबाहिनी माध्यमिक विद्यालय एक्लेखेत, गाउँफर्कोदय माध्यमिक विद्यालय ढोरफिर्दी, जनज्योति माध्यमिक विद्यालय भिमाद, धर्म माध्यमिक विद्यालय भिमाद, शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङ र चन्द्रज्योति माध्यमिक विद्यालय घिरिङमा परीक्षा केन्द्र रहनेछन्।
प्राविधिक धारतर्फका नियमित तथा ग्रेडवृद्धिका सबै परीक्षार्थीका लागि व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ। त्यस्तै, २०७९ सालको एसइईमा सहभागी भई यस वर्ष पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि निर्मल माध्यमिक विद्यालयमा केन्द्र कायम गरिएको छ। देवघाटस्थित महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, वेदवेदाङ्ग संस्कृत गुरुकुल र जिल्लाको पहिलो छात्रामात्र अध्ययन गर्ने माँ कल्याणी वैदिक कन्या गुरुकुलका परीक्षार्थीहरूले महेश संस्कृत गुरुकुल केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।
इकाइले परीक्षाको तयारीलाई तीव्र पारेको र चयन भएका केन्द्राध्यक्षहरूलाई चाँडै अभिमुखीकरण तालिम प्रदान गरिने जनाएको छ। सूचना अधिकारी बरालले परीक्षालाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइने जानकारी दिनुभयो।