• ५ चैत २०८२, बिहिबार

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

blog

डढेलो नियन्त्रणका लागि बाँकेका वनमा बनाइएको फायरलाइन । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत ५ गते ।बर्सेनी डढेलोले वन जङ्गलमा ठुलो क्षति हुँदै अँएको हुँदा यस पटक क्षति रोक्नका लागि बाँके जिल्लामा डढेलो नियन्त्रण गर्न ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ ।

वन डिभिजन कार्यालय बाँकेले जिल्लामा डढेलो नियन्त्रण गर्न २४ जनाको आगो नियन्त्रण दस्ता निर्माण गरेको वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टंक गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी डढेलो लाग्दै आएको क्षेत्रको पहिचान गरी सो रोक्न आगो नियन्त्रण दस्ता निर्माण गरिएको हो ।

खास गरी शम्शेरगन्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको सूचना अधिकारी गुरुङले बताउनुभयो । 

उहाँले डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासङ्घको समन्वयमा डढेलो नियन्त्रण कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताउनुभयो । 

“हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार आगलागी भएपछि सो दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने जनाउनुभयो । बाँकेमा विगतका वर्षमा डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु समेत मरेका थिए। 

वन डिभिजन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले यसअघि डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उनीहरूले आगलागी हुन नदिन योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।

 उहाँले शम्शेरगन्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ÷छ जनाको अग्निनियन्त्रण हेरालुको टोली तैनाथ रहेको बताउनुभयो ।

प्रमुख अग्निनियन्त्रक हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने प्रमुख गुप्ताले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पुर्‍याइएको छ । 

सोही प्रकारले शम्शेरगन्जमा २५ लाख रुपियाँको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयाङ्क’ समेत निर्माण गरिएको जनाउँदै वन डिभिजन कार्यालय बाँकेले डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।