• ५ चैत २०८२, बिहिबार

राससको प्रधानसम्पादकमा महतो

blog

काठमाडौँ, चैत ५ गते । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ । राससको समाचार सेवालाई अझ बढी चुस्तदुरूस्त, व्यवस्थित, प्रभावकारी, गुणस्तरीय, परिणाममुखी र जवाफदेही बनाउन व्यवस्थापनले विभागीय जिम्मेवारी हेरफेर गरेकोे हो । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा यही चैत २ गते हस्ताक्षरित पत्रअनुसार अधिकृतस्तर दसौँ तहका महतोलाई सो जिम्मेवारीमा सरुवा गरिएको हो । यसअघि उहाँ प्रशासन प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

राससमा २०५६ सालदेखि स्थायी सेवा प्रवेश गर्नुभएका महतो लामो समयसम्म राससको तत्कालीन नारायणी अञ्चल कार्यालय, वीरगन्जको प्रमुख तथा केन्द्रीय कार्यालयको समाचार सङ्कलन र सम्पादन शाखामा रही काम गरी सक्नुभएको अनुभव छ । उहाँ नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्वसचिवसमेत भइसक्नुभएको छ ।

प्रबन्ध सम्पादकमा सिल्वाल, प्रमुख समाचारदातामा पाठक

यसअघिका प्रधानसम्पादक उत्तम सिल्वाललाई प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको छ । सिल्वालसँग प्रमुख समाचारदाता र प्रशासन प्रमुखको अनुभव छ । राससको संशोधित विनियमावली, २०८२ ले सो प्रबन्ध सम्पादक पदको नयाँ व्यवस्था गरेको छ । 

यसैगरी प्रमुख समाचारदातामा समाचार महाशाखाका उपप्रमुख एकराज पाठकलाई जिम्मेवारी दिइएको छ । पाठक यसअघि प्रधानसम्पादक र प्रमुख समाचारदाता भइसक्नुभएको छ ।

खोजमुलक समाचार र ‘पोडकास्ट’ संयोजकमा न्यौपाने

हालसम्म प्रमुख समाचारदाता रहनुभएका नारायणप्रसाद न्यौपानेलाई खोजमुलक समाचार र ‘पोडकास्ट’ संयोजकको जिम्मेवारी दिइएको छ । उहाँले यसअघि समाचार सङ्कलन शाखाको उपप्रमुख र निमित्त प्रमुखको भूमिकामा पनि काम गर्नुभएको छ । उहाँहरू सबैले आजदेखि नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ । नयाँ जिम्मेवारी प्राप्त विभागीय प्रमुखलाई महाप्रबन्धक सन्दीप राईले पदस्थापन गराउँदै बधाई दिनुभएको छ । रासस