• ५ चैत २०८२, बिहिबार

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

blog

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत ५ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार फागुन महिनामा उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फागुन महिनामा कुल एक हजार ७२६ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ । नागरिकतासम्बन्धी, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी र अन्य सेवाहरु प्रवाह गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । एक महिनाको अवधि अर्थात फागुनमा १४६ जनालाई नागरिकता उपलब्ध गराइएको छ ।

प्रशासन कार्यालयबाट वितरण भएको नागरिकता सङ्ख्यामध्ये एक जनालाई वैवाहिक अङ्गीकृत नागरिकता उपलब्ध गराएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । उहाँका अनुसार फागुन महिनामा १६६ जनालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको छ । यस्तै १७३ जनालाई राहदानी वितरण गरिएको छ भने राहदानीका लागि सात जनालाई द्रूत सेवा र ११३ जनालाई साधारण सिफारिस उपलब्ध गराइएको छ ।

फागुन महिनामा ३७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा ५४ जनालाई राष्ट्रिय परिचयत्र कार्ड वितरण गरेको, २० जनाको विवरण सच्याउने र राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराउने २९८ जनाको विवरण खोजी गरिएको छ।

यसैगरी, राहदानी बनाउन आएका ११५ जनाको अनलाइन फाराम प्रशासन कार्यालयले निःशुल्क भरी दिएको छ । प्रशासन कार्यालय नागरिक सहायता कक्षमार्फत फागुनमा २५२ जना सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा उपलब्ध गराएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पाँच जनाले सङ्घ संस्था नवीकरणसम्बन्धी सेवा प्राप्त गरेका छन् भने दुई जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । 

प्रशासन कार्यालयका अनुसार फागुन महिनामा एउटा भ्रष्टाचारसम्बन्धी र अभद्र व्यवहारका चार गरी पाँच वटा मुद्दा दर्ता भएको छ । प्रशासन कार्यालयसमक्ष दुई वटा ठाडो उजुरीसमेत आएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।