• ५ चैत २०८२, बिहिबार

हुलाकलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड

blog

कार्यक्रममा सहभागी हुनुभएका अतिथिहरू । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत ५ गते । हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । हुलाक सेवा विभागले बिहीबार नेपालगन्जमा आयोजना गरेको द्रुत डाँक सेवा (इएमएस)सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।

जिल्ला हुलाक कार्यालय बाँकेका जिल्ला हुलाक अधिकृत गजेन्द्रप्रकाश थारूले इएमएस सेवा हुलाकले पहिलादेखि नै सञ्चालन गरिरहेको भए तापनि चाहे अनुसार यो सेवालाई विस्तार गर्न नसकिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले सेवा विस्तारमा थप सहजता हुने र सेवा थप प्रभावकारी हुने हुँदा कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले हुलाक सेवालाई समय अनुसार परिमार्जित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाक सेवालाई अझै विश्वसनीय बनाउनका लागि सेवाप्रदायक संस्था र आम सेवाग्राहीबिच थप समन्वय र सहकार्यको खाँचो रहेको उल्लेख गर्नुभयो ।

गुरुङले हुलाक सेवालाई समयअनुकुल प्रविधिमैत्री, चुस्तदुरुस्त र छिटो छरितो सेवा प्रवाह गर्दै सेवालाई थप सुधार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै सेवाग्राहीको माग र आवश्यकताका आधारमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले हुलाकलाई सम्पूर्ण सरकारी कार्यालयहरूले प्रयोग गर्नुपर्ने भन्दै यसको खस्किँदो शाखलाई जोगाउनका लागि सबै सर्वसाधारण उपभोक्ताहरूले हुलाक सेवा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हुलाकले गर्ने कार्यहरू आम नागरिकसम्म पुग्न नसकेको उल्लेख गर्दै भए गरेका काम र हुलाकका सेवाप्रवाहबारे जानकारी गराउने कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । निजी कम्पनीहरूमा भन्दा हुलाक कार्यालयबाट प्रवाह हुने सेवामा शुल्क न्यून रहेको तर आम उपभोक्ताहरूले अझै हुलाकलाई भन्दा पनि निजी कम्पनीहरूलाई नै खोज्नुपर्ने कारण पत्ता लगाउन पनि आग्रह गुर्नभयो । महङ्गो शुल्क तिरेर पनि सेवाग्राहीहरू हुलाकभन्दा पनि निजी कम्पनीहरूमा आकर्षित भइरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा पनि गर्न हुलाकलाई उहाँले आग्रह गर्नुभयो।

हुलाक सेवा विभागका शाखा अधिकृत शालिकराम बस्यालले हुलाकले सञ्चालन गरिरहेको द्रुत डाँक सेवाले सेवाग्राहीहरूलाई प्रदान गरिरहेको सेवाप्रवाहका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले इएमएसमार्फत समयको माग र ग्राहकको चाहना अनुरूप छिटो छरितो भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवम् मालसामान आदानप्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालभित्र ४५ जिल्लाहरू र विश्वमा ३९ देशका विभिन्न ४२ स्थानमा इएमएस सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै आम सेवाग्राहीहरूलाई हुलाक सेवाको द्रुत डाँक सेवा (इएमएस)मा विश्वास गर्न र हुलाकमार्फत काम गर्न पनि आग्रह गर्नुभयो ।

विभागका निर्देशक लीलाराम पौडेलले हुलाक सेवाको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले हुलाक सेवा देशैभर फैलिएको, ठुलो सञ्जालयुक्त संरचना र अनुभवी जनशक्तिमार्फत सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले मुलुकका विभिन्न ९३ गन्तव्यमा वैदेशिक हुलाक वस्तु नियमित रूपमा पठाइने र हुलाक वस्तुको ढुवानीको दररेट न्यूनतम रहेको तथा सुरक्षित तरिकाले पठाइने भएकाले आम सेवाग्राहीहरूलाई ढुक्कका साथ हुलाक सेवा प्रयोग गर्न आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सीमित स्रोत र साधनका बिच पनि हुलाकले विश्वसनीय हिसाबमा काम गरिरहेको बताउनुभयो । उहाँले हुलाकलाई थप गतिशील बनाउन राज्य संयन्त्रमा बस्ने व्यक्तिहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

हुलाक सेवा विश्वमै विश्वसनीय भइसकेको हुँदा यसलाई समयक्रम अनुसार चल्न आवश्यक रहेको भन्दै हुलाकले २०१९ सालमा बनेको ऐनमा काम गरिरहेको र नयाँ ऐन बन्ने क्रममा रहेको तथा नयाँ ऐन बनेपछि थप सहज हुने अपेक्षा राखेको बताउनुभयो ।

हुलाक सेवालाई आधुनिकीकरण एवम् व्यावसायिक बनाउन, सूचना प्रविधि, सफ्टवेयर निर्माण, भवन संरचना निर्माण तथा मर्मतसम्भार गर्न, सूचना प्रविधिमैत्री जनशक्तिको विस्तार, अन्तरनिकाय र अन्तरतह सहयोग र समन्वय प्रभावकारी बनाउन, स्थानीय तह, एक स्मार्ट हुलाक र हुलाक सेवाबाट ई–कमर्श सञ्चालन गर्न अझै पनि चुनौती रहेका उहाँले बताउनुभयो ।