• ५ चैत २०८२, बिहिबार

रौतहटमा आर्थिक गणना कार्यालय स्थापना

blog

जिल्ला आर्थिक गणना कार्यालय स्थापना कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषाल लगायत । तस्बिर सौजन्य : जिल्ला आर्थिक गणना कार्यालय, रौतहट ।

प्रवीण कुमार शर्मा 

रौतहट, चैत ५ गते । रौतहटमा जिल्ला  आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम गौरमा रहेको साविकको  करदाता सेवा कार्यालयको भवनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरिएको हो ।

जिल्ला आर्थिक गणना अधिकारी सुमन्त यादवले आर्थिक गणना कार्यालय स्थापना भएसँगै सेवा प्रारम्भ भएको जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना कार्यालयमा ८ जना सुपरिवेक्षक र ५६  जना गणकसहितका जनशक्ति रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरिवेक्षक तथा गणकले स्तरीयस्तरमा आर्थिक वस्तुस्थितिको तथ्याङ्क सङ्कलन गर्नेछन् । 

सुपरिवेक्षक र गणकलाई चैत तेस्रो  साता अभिमुखीकरण तालिम प्रदान गरिने र उनीहरूलाई जिल्लाका १८ वटै स्थानीय तहहरूमा खटाइने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । चैत देखि असार सम्म गरेर ४ महिनाको लागि कार्यालय संचालन भएको बताउनु हुँदै जिल्ला गणना अधिकारी यादवले बैशाख २ गते देखि असार ७ गतेसम्म तथ्यांक संकलनको कार्य गरिने बताउनुभयो ।

तथ्याङ्क सङ्कलनका क्रममा प्राप्त जानकारी,सूचना कर प्रयोजनमा प्रयोग नहुने तथा कुनै पनि निकायलाई उपलब्ध नगराइने भएकोले निर्धक्क  भएर यस अभियानमा साथ् र सहयोगको लागि जिल्ला गणना अधिकारि यादवले सम्बन्धित सवैलाई अनुरोध गर्नु भएको छ । आर्थिक ऐन २०७९ मा समेत यो प्रावधान स्पष्ट रुपमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित नेपालमा आर्थिक गणना हुन लागेको हो । नेपालमा पहिलोपटक २०७५ साल वैशाखमा आर्थिक गणना भएको थियो । पुनः दोस्रोपटक आर्थिक गणना कार्यालय स्थानपना गरी आर्थिक विवरणसँगै उद्योगहरूबाट भएका उत्पादनसम्मको विवरण सङ्कलन गर्न लागिएको छ ।

राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना अघि बढाइएको छ । 

जिल्ला आर्थिक गणना कार्यालय स्थापना कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालय रौतहट प्रशासन शाखा प्रमुख रामनरेश साह, लेखापाल ब्रजकिशोर साह, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।