काठमाडौँ, चैत ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजेश हमाल अभिनित ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नै नगरी सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूजका अध्यक्ष रामबहादुर लम्सालले मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको अनुन्धानबाट खुलेको छ ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी बिना प्रतिस्पर्धा १५ लाख ५ हजार रुपियाँको सम्झौता गरी कानुनले तोकेको सीमाभन्दा बढी ५८ प्रतिशत पेस्की रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ ।
आरजे ट्वान्टी फोर न्यूजसँग सम्झौता गरी भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई दिएको र चलचित्र निर्माणका नाममा नक्कली बिल पेस गरेर खर्च देखाएको खुलेको छ ।
आयोगले प्रतिवादीहरूबाट जनही १२ लाख ७७ हजार २५० रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।अध्यक्ष साउदलाई निर्वाचित पदाधिकारीका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ ।