• ५ चैत २०८२, बिहिबार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

blog

मज्जरले ढकमक्क आँपको रुख । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत ५ गते । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् । पातनै नदेखिने गरी मज्जरले ढकमक्क ढाकिए पनि समयमा पानी नपर्दा उत्पादनमा असर पर्ने चिन्ताले आँप किसान निराश बनेका हुन् । 

धनुषाको बटेश्वरका आँप किसान बद्री महतो हिउँददेखि हालसम्म पर्याप्त वर्षा नहुँदा आँप खेती जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुखभरि मज्जर लागेको छ, तर चिचिला लाग्ने बेलासम्म पानी परेन भने मधुवा रोगले फल नै नस्ट गर्छ । केही किसानले विषादी प्रयोग गरेर रोग नियन्त्रण गर्ने प्रयास गरे पनि प्रभावकारी हुन सकेको छैन ।’ कम्तीमा एकपटक राम्रो वर्षा भए मात्र उत्पादन सुरक्षित हुने उहाँको भनाइ छ ।

किसान मोटरको सहायताले सिँचाइ गर्ने प्रयास गरे पनि आकासे वर्षा जस्तो नहुने महतोको कथन छ । हरिहरपुरका किसान मनोज महतोले वर्षा अभावले आँप मात्र नभई चैत धान र उखुबालीमा समेत नकारात्मक असर परेको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ पहाडी र हिमाली क्षेत्रमा पानी परे पनि यस क्षेत्रमा कार्तिक यता वर्षा भएको छैन । अघिल्लो वर्षजस्तै यसपालि पनि खडेरी हुने सङ्ककेत देखिएको उहाँले बताउनुभयो । 

मिथिला नगरपालिकाको कृषि शाखाका प्राविधिक उमेश महतोले वर्षा र बढ्दो तापक्रमका कारण आँप रुखमा किराको प्रकोप बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार मधेश आँप उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । यतिबेला आँपसँगै लिचीलगायत अन्य फलफूलका बोटमा प्रशस्त फूल लागेको छ । तर पानीको कमी र अत्यधिक गर्मीले उत्पादनमा प्रत्यक्ष असर पार्नेछ । फल लागे पनि २० देखि ४० प्रतिशतसम्म उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । 

पर्यावरण संरक्षण अभियानी सुरेश शर्माले जलवायु परिवर्तनका कारण वर्षा प्रणाली अनियमित बन्दै गएको बताउनुभयो । उहाँका अनुसार अब वर्षा हुँदा एकैपटक धेरै पर्ने र लामो समयसम्म सुख्खा रहने प्रवृत्ति बढ्दो छ, जसले कृषि प्रणालीलाई थप चुनौतीपूर्ण बनाएको छ । मधेश क्षेत्रमा पानीका स्रोतहरू क्रमशः सुक्दै जानु पनि गम्भीर समस्या बन्दै गएको उहाँले औँल्याउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको तथ्याङ्क अनुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । 

जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुन्छ । कुल उत्पादनमा मधेश प्रदेशको योगदान ७७ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।

प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको छ । आँप उत्पादनको दृष्टिले सिराहा सबैभन्दा अगाडि रहेको छ । सिराहमा वार्षिक एक लाख ४ हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्कमा छ ।