• ५ चैत २०८२, बिहिबार

सुरक्षाकर्मीलाई डढेलो नियन्त्रण सामग्री हस्तान्तरण

blog

सुरक्षाकर्मीलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल लगायत । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत ५ गते । लमजुङमा डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय लमजुङले डढेलो व्यवस्थापन सप्ताहको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई डढेलो नियन्त्रणका सामग्री उपलब्ध गराएको हो ।

सुरक्षाकर्मीलाई एक सेट ब्याकप्याक फायर एक्स्टिंगुइसर स्प्रेयर, चार थान स्वाटर, चार थान फलामे हृयान्डल भएको रेक हो, चार जोडी कटन जम्पसुट, चार जोडी कालो लेदर बुट, चार थान साधारण क्याप मास्क, चार थान सेफ्टी हेल्मेट, चार जोडी पञ्जा र मोजा हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

डढेलो नियन्त्रणमा तीन तहका सरकार र समुदायको सहभागिता आवश्यक रहेको डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितले बताउनुभयो । वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको उहाँको भनाइ छ । कार्यालयका अनुसार वन डढेलो व्यवस्थापन सप्ताह (चैत १ देखि चैत ७) को अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

यस्तै, वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय लमजुङले वन अधिकृत सन्तोष खनालको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । टीममा जिल्ला प्रशासन कार्यालयका खरिदार हरिभक्त विक, चण्डीप्रसाद गण उदीपुर ब्यारेकका सहायक सेनानी केवल सिंह पुन, जिल्ला प्रहरी कार्यालयका असई हरिराम बोहरा, सशस्त्र प्रहरी आश्रित गुल्म लमजुङका असई नवराज मगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सूचक बाबुराम मग्राती सदस्य रहनुभएको छ । 

यस्तै, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लमजुङका अध्यक्ष शान्ता सापकोटा, खासुर सामुदायिक वन उपभोक्ता समूह बेँसीसहर नगरपालिका–१० का वन उपभोक्ता देवबहादुर गहतराज र भोटेचौर पालेको सामुदायिक वन उपभोक्ता समूह बेँसीसहर नगरपालिका–१० का पूर्ण रिमाल पनि सदस्य हुनुहुन्छ ।

वन क्षेत्रमा हुने डढेलोको जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थामा छिटो उद्धार तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन टोली गठन गरिएको डिभिजन वन प्रमुख पण्डितले बताउनुभयो।