पाटन, चैत ४ गते । ललितपुरमा घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ । पाटन दरबार क्षेत्रबाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको हो ।
सर्वसाधारणको उपस्थितिमा रमेश महर्जनले पाटनको मूल चोकमा ‘संरक्षण’ घोडा चढेर जात्राको सुरुवात गर्नुभयो। मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो । मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले संरक्षण घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो ।
स्थानीयका अनुसार मल्लकालीन राजाले शक्ति प्रदर्शनका लागि घोडा प्रदर्शन गरेको र अहिले त्यसलाई नै निरन्तरता दिइएकाे छ । मल्लकालदेखि नै पाटन दरबार क्षेत्र नजिक बसेका सर्वसाधारणलाई घोडाको तबेला हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यही समयमा सुरु भएको जात्रालाई आजसम्म निरन्तरता दिइएको हो भन्ने स्थानीयको भनाइ रहेको छ ।
पाटन मङ्गल बजारको मूल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुङ्गिएको हो । जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि बालकुमारी मन्दिरको परिक्रमा गरिन्छ भने बालकुमारी दोबाटोमा पान खुवाए पछि जात्रा सम्पन्न हुने गरेको छ । यो जात्राको आयोजना ‘भीमसेन गुठी च्योः खलः’ ले गरेको हो ।




















