• ५ चैत २०८२, बिहिबार

८८ हजारले लगाए जापानिज इन्सेफलाइटिसविरुद्धको खोप

blog

खोप लगाउन लाइनमा बसेका स्थानीयहरू । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, चैत ५ गते । नवलपुरमा सञ्चालन भइरहेको जापनिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियान अन्तर्गत हालसम्म ८८ हजार २६५ जना (५८.८४ प्रतिशत) ले खोप लगाएका छन् । 

प्रदेश जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चैत २९ गतेदेखि हालसम्म ५१ हजार ९३४ महिला र ३६ हजार ३३१ जना पुरुषले यो खोप लगाएका हुन् । चैत ९ गतेसम्म खोप लगाउने अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । 

जिल्लाका सबै आठवटै पालिकामा एकसाथ सञ्चालन गरिएको अभियानमा उल्लेख्य सहभागिता रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख डा. केशव चापागाईले बताउनुभयो । 

‘‘जिल्लाभर प्रभावकारी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ, चापागाईले भन्नुभयो, ‘‘स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको छ ।’’ उहाँका अनुसार जिल्लामा ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी एक लाख १५ हजारलाई खोप लगउने लक्ष्य राखिएको छ । 

यो उमेर समूहमा जिल्लामा एक लाख ४५ हजार जनसङ्ख्या भए पनि केही लगाउन नमिल्ने र केही देश बाहिर रहेकाले एक लाख १५ हजारलाई लगाउने लक्ष्य पूरा हुने डा. चापागाईको भनाइ छ । 

देशभरमै नवलपुरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी निःशुल्क खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लामा हालसम्म ३८ जनालाई यो सङ्क्रमण देखिएको छ भने १४ जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमै १४ जनामा सङ्क्रमण देखिदा ६ जनाको मृत्यु भइसकेको छ । 

जापानिज इन्सेफलाइटिस इन्फ्लुन्जा सङ्क्रमण भएको हाँस, चराचुरुङ्गी, सङ्गुर, बुङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकहरूको भनाइ छ ।