• १३ साउन २०८१, आइतबार

महरेडाँडामा पर्यटकको चहलपहल

blog

पर्यटकीय स्थल महरेडाँडाको भ्रमणमा पुगेका स्कुलका विद्यार्थी र शिक्षकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन ३० गते ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महरेडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पर्यटन सिजन सुरु भएसँगै महरेडाँडा आन्तरिक एवम् बाह्यै पर्यटक चहलपहल बढ्न थालेको हो ।

महरेडाँडामा निर्माण गरिएको सामुदायिक लजमा १५० जना पर्यटक बासबस्न सक्ने क्षमता छ । पर्यटक बढ्न थालेपछि थप पूर्वाधार निर्माण गर्ने योजना रहेको सामुदायिक लजका सुपरभाइजर नविन पुनले बताउनुभयो ।

राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने पर्यटकीय क्षेत्र महरेडाँडाबाट प्राकृतिक सुन्दरताको अवलोकन गर्न पछिल्लो समय स्कुल र क्याम्पसका विद्यार्थीहरु पुग्न थालेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार ३१३ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र महरेडाँडाबाट हिमश्रृङ्खला सहित मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

‘‘महरेडाँडा निकै मनोरम र रमाइलो रहेछ ,पहिलो पटक हामी स्कुलका विद्यार्थीसहित पुगेको थियौं निकै आनन्द महशुष भयो,’’ बेनी सामुदायिक विद्यालयका शिक्षक भरत थापाले भन्नुभयो, ‘‘महरेडाँडा साच्चिकै स्वर्गको टुक्रा जस्तो लाग्यो ।’’


विकट स्थानमा भएर पनि पर्यटकका लागि खानबस्ने राम्रो सुविधाका र स्वागत सत्कारले अर्को पटक पनि जाउँजाउँ बनाएको उहाँ बताउनुहुन्छ । उहाँले स्कुलका करिब ८० जना विद्यार्थीलाई लिएर भ्रमण गर्न त्यहाँ पुग्नुभएको हो ।

महरेडाँडाबाट पुतली, चुरेन, गूर्जा, धौलागिरी, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, लमजुङ, धम्पुस, मार्दी, मनास्लु, माछापुच्छ्रेसहित विभिन्न दुई दर्जन हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । साथै यहाँबाट पोखराको बजार, फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि देख्न सकिन्छ ।

पर्यटकका लागि सुविधा थपिएसँगै स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको महरेडाँडा सामुदायिक लजका सुपरभाइजर नवीन पुनले जानकारी दिनुभयो । पर्यटक महिना सुरु भएसँगै कोठा बुकिङ हुनथालेको उहाँको भनाइ छ । उहाँका अनुसार भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म पर्यटकको निकै चहलपहल हुन्छ ।

महरेडाँडा पुग्नका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर तथा कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महरे पुग्न सकिन्छ । यसैगरी, म्याग्दीको बेनीबाट घोरेपानी–पुनहिल भएर पनि महरेडाँडा पुगिन्छ भने पर्वतको मिलनचोक–सालिजा–जलजला हुँदै महरेडाँडा पुग्न सकिन्छ । चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पर्यटकलाई आकर्षित गराउँछ ।

महरेडाँडाबाट मनोरम हिमश्रृङ्खला, हरियाली वनपाखा, लेकाली जङ्गल, जडिबुटीहरु, डाँडाकाँडा र पहाडका थुम्का, लोपोन्मुख वन्यजन्तु जनावर तथा चराचुरुङ्गीको समेत अवलोकन गर्न पाउनु महरेडाँडाको थप आकर्षण र विशेषता रहेको छ ।