अमरराज नहर्की
तनहुँ, चैत २५ गते । तनहुँको व्यास नगरपालिकाले विपन्न र दीर्घरोगी नागरिकको उपचारका लागि ३९ लाख २८ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै २६६ जना दीर्घरोगीको उपचारमा राहत पु¥याउन सो रकम खर्च गरेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले उपचार अभावकै कारण नागरिकले पीडा भोग्नु नपरोस् भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी र विपन्न बिरामीलाई अस्पताल आवतजावतमा सहजता होस् भनेर निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरिएको छ ।
नगरपालिकाले क्यान्सर, मुटु र मिर्गौला जस्ता गम्भीर रोग लागेका विपन्न नागरिकलाई उपचारमा सघाउन प्रतिव्यक्ति मासिक पाँच हजारका दरले सम्बन्धित व्यक्तिको बैंक खातामै रकम पठाउने व्यवस्था गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार आर्थिक सहायताका अतिरिक्त ७७ जना विपन्न बिरामीलाई थप उपचारका लागि अस्पताल सिफारिस र १०२ जनालाई निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको छ । ज्येष्ठ नागरिक र विपन्नको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको लम्साल बताउनुहुन्छ ।
यसैबीच व्यास नगरपालिकाले अस्पतालसम्म आउन नसक्ने ज्येष्ठ नागरिकका लागि ‘घरदैलो स्वास्थ्य सेवा’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमबाट १४ वटै वडाका चार हजार ७१५ जना ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार नगरपालिकाले बालबालिका र किशोरीहरूको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । १० देखि १४ वर्ष उमेरका ७८९ जना बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप प्रदान गरिएको छ ।
यस्तै, पाँच वर्ष मुनिका पाँच हजार १६३ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिएको छ । ग्रामीण क्षेत्रका गर्भवती महिलालाई लक्षित गरी सञ्चालन गरिएको ’ग्रामीण भिडियो एक्सरे’ सेवाबाट ८१ जनाले लाभ उठाएका छन् ।
नगरपालिकाले हालै पाँच वर्ष मुनिका बालबालिकाको घरधुरी सर्वेक्षण गरी ‘पूर्ण खोप सुनिश्चितता’ कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाएको स्वास्थ्य शाखाले जनाएको छ ।