• २५ चैत २०८२, बुधबार

बन्दीपुर–केशवटार होमस्टे सर्किटको विकास गरिँदै

blog

होमस्टेमा आएका पाहुनालाई स्वागत गर्दै स्थानीय । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २५ गते । तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर र व्यास नगरपालिकाको केशवटार क्षेत्रलाई एकीकृत गरी ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ को विकास प्रक्रिया अघि बढाइएको छ । 

दुई स्थानीय तहको संयुक्त पहलमा सुरु भएको यो अभियानलाई दुई आर्थिक वर्षभित्र तीन चरणमा सम्पन्न गर्नेगरी विस्तृत कार्ययोजना तय गरिएको हो । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले दुई पालिकाबिचको यो सहकार्यले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको बताउनुभयो । 

नगर प्रमुख न्यौपानेले भन्नुभयो, “बन्दीपुर आउने पर्यटकलाई व्यास –१४ को केशवटार र आसपासका मौलिक गाउँहरूसम्म जोड्न यो सर्किट कोसेढुङ्गा साबित हुने छ ।”

अन्तर पालिका समन्वयमार्फत पूर्वाधार विकास र बजारीकरण गरी यसलाई देशकै नमुना होमस्टे सर्किट बनाउन हामी प्रतिबद्ध छौँ, उहाँले भन्नुभयो । यस अभियानले ग्रामीण क्षेत्रको नागरिकको आयआर्जन र स्थानीय उत्पादनको प्रवर्धनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार करिब ५० किलोमिटर चक्रीय दूरीको यस सर्किटमा १३ वटा सामुदायिक होमस्टेसहित २० वटा गाउँहरू समेटिएका छन् । यसलाई व्यवस्थित बनाउन पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम र नक्साङ्कन गरिने छ । 

दोस्रो चरणमा पर्यटकीय पूर्वाधार निर्माण र मानवीय स्रोत विकासमा जोड दिइने छ । तेस्रो चरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरी पर्यटकीय गतिविधि सञ्चालन गरिने लक्ष्य छ । हालै यस सर्किटको प्रवर्धनका लागि दुई दिने परिचयात्मक भ्रमण सम्पन्न भएको छ । 

बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैसबहादुर गुरुङले यो सर्किटले गुरुङ, मगर, नेवार र क्षेत्री समुदायको मौलिक संस्कृतिलाई एउटै मार्गमा जोडेको बताउनुभयो । सर्किट अन्तर्गत धाैलागिरिदेखि लाङटाङसम्मका हिमश्रृङ्खलाको अवलोकनका साथै परम्परागत खेती प्रणालीमा प्रत्यक्ष सहभागी हुन पाउने अवसर मिल्ने छ । 

बन्दीपुर र दमौलीलाई प्रवेशद्वार मानिएको यो सर्किटले प्राचीन दरबार, कोट र किल्लाको खोज तथा अध्ययन गर्न चाहने अनुसन्धानकर्ताहरूका लागि समेत नयाँ गन्तव्य प्रदान गर्ने अपेक्षा गरिएको छ । माउन्टेन बाइकिङका पारखीहरूका लागि व्यवस्थित साइकल लेनसमेत तयार पारिएको यो नवीन प्रयासले तनहुँको ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म जोड्ने मद्दत पुग्ने देखिएको पर्यटनकर्मी हरिसिंह गुरुङ बताउनुुहुन्छ ।