• ९ पुस २०८१, मङ्गलबार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

blog

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार हुँदै । तस्विर : राजन रावत, हुम्ला ।

राजन रावत

हुम्ला, फागुन ३० गते । दुई दिनदेखि प्रसव व्यथा लागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । मङ्गलबारबाट व्यथा लागेकी गर्भवतीको गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासकनको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रदेश अस्पताल लाकागाउँ सुर्खेतमा उद्धार गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले चङ्खेली गाउँपालिका-२ की १६ वर्षकी गर्भवती महिला जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गर्ने कार्य भएको बताउनुभयो ।

अघिल्लो दिन बेथा लागे लगत्तै गर्भवती कामीलाई पिप्लाङ स्वास्थ्य चौकीमा ल्याएर उपचार भएको थियो । उहाँले मङ्गलबार बिहान बेथा लागेकी गर्भवती कामीको जानकारी आए लगत्तै जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर हेलिकोप्टरको व्यवस्था गरी गाउँपालिका केन्द्र पिप्लाङबाट उद्धार गरिएको बताउनुभयो । 

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बच्चा उल्टो भएको र सालनाल अगाडि निस्केकी जुनकलाको उद्धार गर्ने कार्य भएको बताउनुभयो । उहाँले बेथा लागेकी गर्भवती कामीको अवस्था निक्कै जटिल भएको कारण गाउँपालिकाको स्वास्थ्य शाखाले उद्धारका लागि पत्राचार गरे लगत्तै उद्धार कार्य भएको बताउनुभयो । 

सिमकोट गाउँपालिका–७ को डाँडाफयाकी कामीको गत वर्ष चङ्खेली गाउँपालिका– २ का  बिर्बल कामीसँग विवाह भएको थियो । यो कामीको पहिलो गर्भ हो । गत फागुुन २६ गते गर्भ तुहिएर उच्च रक्तस्राव भइरहेकी सर्केगार्ड गाउँपालिका– ७ को गोठी गाउँकी कलसी शाही छत्यालको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको थियो । 

कामीसहित गत साउन यता  सात जना गर्भवती तथा सुत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमले लागत बेहोर्ने गरी जिल्ला बाहिर उद्धार गरिएको छ । हिमाली जिल्ला हुम्लाका दुुर्गम बस्ती हुने गर्भवती महिलाहरुको जीनव रक्षाका लागि यो कार्यक्रम निकै प्रभावकारी हुँदै आएको छ । यो कार्यक्रमबाट उत्तरी नाम्खा र दक्षिणी क्षेत्रका सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका जटिल केशका गर्भवती महिलाहरुको बर्सेनि रुपमा उद्धार हुँदै आएको छ ।