• २६ चैत २०८२, बिहिबार

अमेरिका र इरानबिच भोलि पाकिस्तानमा वार्ता हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । अमेरिका र इरानबिच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ । 

उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ताका रूपमा देखा परेको छ । प्रधानमन्त्री सरिफले ‘इस्लामावाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघि मात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमति भएका हुन् । पाकिस्तानको मध्यस्थतामा अमेरिका÷इजरायल र इरानबिचको ४० दिने युद्ध रोकएको हो । 

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए । त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको हो । इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो ।

सरिफले लेबनानसहितका क्षेत्रमा युद्धविराम लागु भएको बताउनुभएको छ । यद्यपि इजरायलले त्यस क्षेत्रमा हेजबुल्लाहविरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्धविराम लागु नभएको जिकिर गरेको छ । टर्की र इजिप्टले पनि हालैका दिनमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । 

दुवैले विजयी भएको दाबी

युद्धविराममा सहमति जनाएपछि अमेरिका र इजरायल दुवैले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन् ।

युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गर्नुभएको छ । दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै यसले हर्मुज जलमार्ग हुँदै आफ्ना सबै जहाज सुरक्षित मार्गमा ल्याउने विश्वास व्यक्त गरेको छ । अस्ट्रेलियाले युद्धको दीर्घकालीन असरको चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा ध्यान दिनुपर्ने बताएको छ । न्युजिल्यान्डले युद्धविरामको स्वागत गरे पनि स्थायी शान्ति कायम गर्न अझै महत्वपूर्ण काम बाँकी रहेको बताएको छ । जापानले हर्मुज जलमार्गमार्फत सुरक्षित नेभिगेसन सुनिश्चित गर्न ठोस कदम आवश्यक रहेको बताएको छ । इराकले युद्धविरामलाई स्वागत गर्दै अमेरिका र इरानलाई गम्भीर र दिगो संवादका लागि आह्वान गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानले भविष्यमा आणविक, क्षेप्यास्त्र तथा आतङ्कवादसम्बन्धी खतरा नउठाउने सुनिश्चित गर्न अमेरिकाले चालेका प्रयासमा पनि इजरायलको साथ रहने बताउनुभएको छ ।

कच्चा तेलको मूल्य घट्यो

यसैबिच युद्धविराम घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा सुधार देखिएको छ । यद्यपि दीर्घकालीन समाधानका विषयमा अझै मतभेद कायम छन् । इरानले अमेरिकी प्रतिबन्ध हटाउने, हर्मुजमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । साथै आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिनुपर्ने अडान पनि दोहो¥याएको छ । ट्रम्पले भने कुनै पनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याइनुपर्ने बताउनुभएको छ । इरान आणविक हतियारनजिक पुगेको उहाँको दाबीलाई अन्तर्राष्ट्रिय निकायले भने समर्थन गरेका छैनन् ।

रातभरि मानव साङ्लो

ट्रम्पले इरान ध्वस्त पार्ने कडा चेतावनी दिएपछि इरानमा ऊर्जा संरचनाको सुरक्षाका लागि नागरिकले मङ्गलबार रातभरि मानव साङ्लो बनाएको दृश्य सार्वजनिक भएको छ । युद्धविराम घोषणा भएलगत्तै तेहरानमा सरकारको समर्थनमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै झन्डा जलाएका छन्, जसले देशभित्रको कट्टर असन्तुष्टि झल्काउँछ । यस युद्धमा दुई हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा फैलिएको हिंसाले ठुलो मानवीय र आर्थिक क्षति पु¥याएको छ । हर्मुज जलमार्गमा इरानले अवरोध गरेपछि विश्व अर्थतन्त्रमा समेत चर्को दबाब सिर्जना भएको छ ।