• २५ पुस २०८१, बिहिबार

संयोग र नविता च्याम्पियन

blog

उपाधि विजेता नविता श्रेष्ठ र संयोग कपाली । तस्बिर : राखेप

काठमाडौं, फागुन ३० गते । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नवीता पहिलो हुनुभएको हो । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११, १४–१२ को सेटमा हराउनुभयो । एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तस्रो हुनुभयो ।

महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १–११, ११–३, ११–८, ११–४, ७–११, ११–४ को सेटमा पाखा लगाउनुभयो । प्रहरीका मन्जु सुवाल र यशस्वी अवाल तेस्रो हुनुभयो । 

पुरुष-महिला दुवैमा शीर्षतीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो । प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३–१ ले पाखा लगायो ।

प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेस्रो भएको छ । मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरी थापाले मदन आचार्यलाई ११–३, ११–८, ११–८ को सोझो सेटमा हराउनुभयो । 

सुमन प्रधान तेस्रो हुनुभयो । प्रतियोगिताको कलेजतर्फ दुई स्वर्ण र एक कांस्यसाथ प्राइम टिम च्याम्पियन बन्यो । स्कुलतर्फ सृजना ज्ञानसागर एक स्वर्ण, दुई रजत र चार कांस्य जित्दै समूह विजेता भयो ।

‘टेबलटेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा ३ सय खेलाडीले सहभागिता जनाएको आयोजक काठमाडौं जिल्ला टेबलटेनिस सङ्घले जनाएको छ ।