• २५ पुस २०८१, बिहिबार

मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ चैत अन्तिममा

blog

फेन्सिङ प्रतियोगिताका लागि सहयोग सम्बन्धी सम्झौतामा गरिँदै । तस्बिर : गोरखापत्र

प्रकाशविक्रम शाह

धनगढी, फागुन २९ गते । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुदूरपश्चिममा चैत २९ र ३० गते हुने भएको छ ।

कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने सो प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी रहेको छ ।

१३ लाख ५७ हजार रुपियाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको यस प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्ले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाँकी रकम विभिन्न पक्षसंग सहयोग मागेर जुटाइने फेन्सिङ संघले जनाएको छ ।

सोमबार प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न खेलकुद परिषद् र फेन्सिङ संघबीच सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ खालको खेल भएकोले यसको प्रर्वद्धनमा सहयोग पुगाउन सहयोग गरेको प्रदेश खेलकुद परिषदका सचिव दीपकबहादुर सिंहले बताउनुभयो ।

सदस्य सचिव सिंहका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका जित्नु भएको थियो ।

कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहनु भएका शाहीकै सक्रियतामा सो प्रतियोगिता हुने भएको हो । युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी हुनु भएको छ ।

सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७० जना खेलाडी सहभागी हुने अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँका अनुसार २० वर्षमुनीको खेल इपी  र खुला खेल सेवर विद्यामा खेलाइने  छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुनेछन् ।

इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समय अवधी तीन मिनेटको हुन्छ । खेलाडीले तीन मिनेटमा पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन् ।