• २५ पुस २०८१, बिहिबार

यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

blog

सन्दीप लामिछान ।

काठमाडौं, फागुन २९ गते । स्पिनर सन्दीप लामिछाने मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताउनुभएको हो ।

उहाँले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताउनुभयो । यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

लामिछाने सोमबार पिएनजीविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट खेलमा पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित हुनुभयो ।

पीएनजीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीप एकदिवसीय क्रिकेटमा दुर्लभ कीर्तिमान नजिक पनि हुनुहुन्छ । उहाँले एकदिवयीयमा सर्वाधिक छिटो एक सय विकेट पूरुा गर्ने खेलाडीको कीर्तिमान नजिक उभिनु भएको हो ।

सन्दीपले अहिले ४० एकदिवसीयमा ९८ विकेट लिनुभएको छ । उहाँले सय विकेट पूरा गर्न दुई विकेट मात्र बाँकी छ । एकदिवसीयमा सर्वाधिक एक सय विकेटको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । 

यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताउनुभयो । उहाँले प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा आफू खुसी रहेको प्रतिक्रिया दिनुभयो ।

लामिछानेले नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भए पनि परिस्थिति अनुसार खेल्दा पिएनजीविरुद्ध सहज सफलता मिलेको बताउनुभयो । ओपनिङको रूपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताउनुभयो ।

अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्त्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूmलाई सफलता मिलेको जानकारी दिनुभयो । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको बताउनुभयो । प्रशिक्षकको रणनीति अनुसार खेल्न आफूm सफल भएको प्रतिक्रिया दिनुभयो ।

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीबार खेल्नेछ । त्यसअघि बुधबार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।