• १३ साउन २०८१, आइतबार

बजेट अभाव भएपछि 'जनजाति पार्क' अलपत्र

blog

कबिराज घिमिरे 

हिले, फागुन २९ गते । सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्कको निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण सुरु भएको १० वर्ष बित्दासमेत पर्याप्त बजेट अभावका कारण काम पुरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र बनेको हो ।

साँगुरीगढी गाउँपालिका वडा नं.६ थुम्की स्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको एक करोड ४४ लाख खर्च भएको छ । २०६८ सालमा स्थानीय गाविस तथा स्थानीय नगरस्तरीय जनजाति महासङ्घको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक वर्ष २०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरे । स्थानीय पालिका तथा प्रदेश सरकारले काम सुरु गरेको यो पार्कमा चार वर्ष पुरा भइसक्दा पनि पार्क सम्पन्न नहुँदा अलपत्र छ । 

पार्कमा एक सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भहरू बनाइएको छ । बजेट अभावका कारण त्यसबाहेक केही कामअघि बढ्न सकेको पार्क निर्माण समितिका संस्थापक अध्यक्ष बालकृष्ण राईले जानकारी दिनुभयो ।

स्थानीय ग्रामीण जनता मा.बि.को ६ रोपनी जमिनमा पालिका र विद्यालयले यसबाट आउने आमदानीमा साझेदार गर्ने गरी सो पार्क बन्न लागेको हो । सो क्षेत्रको वृहत् विकास गर्न पार्कका लागि तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी आठ करोडको डिपिआर रहेको छ । 

पार्क निर्माणका लागि मात्र हाल सम्म प्रदेश सरकारको आर्थिक वर्ष २०७५-०७६ मा ७८ लाख ८६ हजार र आ.व.२०७७-०७८ मा ६५ लाख ३० हजार खर्च भएको छ । आ.व.०७८-०७९ मा ७५ लाखको काम पुरा नभई रकम फिर्ता गएको थियो भने चालु आ.व.२०७९-०८० मा १५ लाख विनियोजन भएको छ । 

पर्याप्त बजेट नआएकोले पार्क निर्माण पुरा हुन नसकेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । यो पार्क निर्माण भएपछि पर्यटकले एकै स्थानमा विभिन्न जातजातिको कलासंस्कृति रहनसहन हेर्न पाउने भएको छ ।