निशा राई
धरान, चैत २५ गते । धरान उपमहानगरपालिकामा ‘कोशीमा विहार उत्सव–२०८२’ चैत २६ गतेदेखि सुरु हुने भएको छ ।
“पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय” भन्ने नारासहित आयोजना हुन लागेको यस उत्सव पर्यटन, कला, संस्कृति र व्यवसायको सङ्गमका रूपमा रहने कार्यक्रम संयोजक नारायण लिम्बूले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा चैत २६ र २७ गते दुई दिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । प्रदेश समृद्धिको प्रमुख आधारका रूपमा पर्यटनलाई लिँदै यस वर्षलाई पर्यटन विकासको आधार वर्षका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।
पर्यटन कार्यालय धरानको प्रवर्धन, सुनसरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा होटल एसाेसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा धरानको भानुचोक स्थित खुला क्षेत्रमा कार्यक्रम आयोजना गरिने छ ।
उत्सव मार्फत विहारका पर्यटकहरूले यहाँको संस्कृति, खानपान र स्थानीय जनजीवनसँग नजिकिन सकुन भन्ने लक्ष्य राखिएको कोशी प्रदेश पर्यटन वर्ष समितिका सदस्य वासुदेव बरालले बताउनुभयो। साथै, सिमानापारि र स्थानीय उद्योगी–व्यवसायीबिच व्यापार तथा लगानीका सम्भावनाबारे अन्तरक्रिया हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भारतको विहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहने छ । दुई देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्धन गतिविधि तथा विविध खानाका स्टलहरू उत्सवका मुख्य आकर्षण रहने छन् । उक्त कार्यक्रम धरानमा आयोजना भए पनि समग्र कोशी काेरिडोर क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको बरालले बताउनुभयो ।