• १३ साउन २०८१, आइतबार

जङ्गबहादुरका भए दुई श्राद्ध

blog

काठमाडौँ, फागुन २१ गते । राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उहाँका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले स्थापना गरेको नेपाल राष्ट्रिय राणा समाजले उहाँको श्राद्ध गर्दै आएको छ ।

हिन्दु धर्म संस्कृतिअनुसार तीन पुस्तासम्मको मात्र श्राद्ध गर्ने गरिन्छ । त्रिपुरेश्वरको कालमोचन घाटस्थित जङ्ग–हिरण्य–हेम नारायण मन्दिर हातामा शनिबार श्री ३ जङ्गबहादुरको श्राद्ध गरियो । जङ्गबहादुर राणाको उभिएको सालिकको आडमा सरकारी खर्चमा श्राद्ध गरियो भने पाँच फिटको दूरीमा उहाँका सन्ततिले श्राद्ध गरे । सरकारी खर्चमा जङ्गबहादुरको मात्र श्राद्ध गर्ने चलन छ । यसको बन्दोबस्त गुठी संस्थानले गर्दै आएको छ । जङ्गबहादुरको श्राद्ध कौसीतोषखानाले गर्दै आएकोमा २०२० सालपछि संस्थानले गर्न थालेको हो ।

रौतहटको पत्थरघट्टामा सिकारमा रहँदा १९३३ सालमा जङ्गबहादुरको निधन भएको थियो । १९३४ सालको फागुन शुक्लद्वादशीका दिनबाट श्राद्ध हुँदै आएको छ । सरकारी खर्चमा गरिएको श्राद्धमा कर्ताका रूपमा मन्दिरका पुरोहित गोविन्दप्रसाद कोइराला हुनुहुन्थ्यो । सन्ततिका तर्फबाट जङ्गबहादुरका पाँचौँ पुस्ताका सन्तान मेघजङ्ग राणा, छैटौँ पुस्ताका सन्तान रामप्रताप जबरा, सातौँ पुस्ताका सन्तान सन्तोषप्रताप जबरा र छैटौँ पुस्ताका सन्तान रामप्रताप जबराले ‘बडा जिजुहजुरबुबा’लाई पिण्डदान गर्नुभएको थियो । 

मन्दिरका पुजारी कोइरालाले २०५७ सालदेखि प्रत्येक वर्ष गुठी संस्थानका तर्फबाट जङ्गबहादुरको श्राद्ध गर्दै आउनुभएको छ । नेपाल राष्ट्रिय राणा समाजले २०६३ सालदेखि सन्ततिका तर्फबाट श्राद्ध गर्दै आएको छ । जङ्गबहादुरलाई तर्पण दिएपछि कर्ता कोइरालाले भन्नुभयो, “यति ठूला व्यक्तिको श्राद्ध गर्न पाउँदा गर्व लाग्छ । जोसुकैले जङ्गबहादुरको श्राद्ध कहाँ गर्न कहाँ पाउँछन् र ?” 

गुठी संस्थानका तर्फबाट पुरोहितका रूपमा बालाजुका शिवप्रसाद ढकालले श्राद्धको विधिअनुसार पूजापाठ गराउनुभएको थियो । जङ्गबहादुरको श्राद्धमा उहाँ पुरोहित हुनुभएको यो दोस्रो पटक हो । उहाँले जङ्गबहादुरको श्राद्ध गराउन पाउनु आफ्ना लागि निकै ठूलो कुरा भएको बताउनुभयो ।

समाजका तर्फबाट २०६३ सालदेखि श्राद्ध गराउँदै आउनुभएका भक्तपुर कटुन्जेका पुरोहित मुकुन्दप्रसाद लुइँटेलले अन्यभन्दा जङ्गबहादुरको श्राद्ध गर्नु पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँदै थप्नुभयो, “जङ्गबहादुर राणा त राष्ट्रकै अभिभावक हुनुहुन्थ्यो । उहाँको श्राद्ध गर्न पाउँदा गौरव लाग्छ । उहाँले राष्ट्रलाई धेरै कुरा दिनुभएको छ । उहाँको ऋण हामीलाई पनि त छ । त्यसैले उहाँको श्राद्ध गर्न पाउनु सम्मान पनि हो ।” 

समाजका संस्थापक अध्यक्ष सुमनप्रताप जबराले गुठी संस्थानमार्फत सरकारले बर्सेनि श्राद्ध गर्दै आउनु जङ्गबहादुरप्रतिको सम्मान भएको बताउनुभयो । उहाँले श्री ३ जङ्गबहादुरका १४ सन्तानमध्ये १० सन्तानका सन्तति भेला भएर श्राद्ध थालनी गरिएको बताउँदै भन्नुभयो, “गुठी संस्थानले गर्ने श्राद्धप्रति विश्वास नभएर हामी आफैँले पनि श्राद्ध गर्न थालेका हौँ ।” समाजका केन्द्रीय सदस्य कुँवर शरदजङ्ग राणाले नेपालको इतिहासमा जङ्गबहादुरलाई जसरी बुझिए पनि जङ्ग सन्ततिले पितृपुर्खा र वंश पुरुषका रूपमा श्राद्ध गरी सम्झने प्रयास गरिएको बताउनुभयो । गुठी संस्थानका सूचना अधिकारी जनक पोखरेलले २०२१ सालमा गुठी संस्थान स्थापनापछि प्रत्येक वर्ष संस्थानले श्राद्ध गर्दै आएको उल्लेख गर्दै श्राद्धमा दक्षिणास्वरूप कर्तालाई एक हजार पाँच सय रुपियाँ र श्राद्धको जिन्सी सामग्री खरिद गरेअनुसारको रकम दिने गरिएको जानकारी दिनुभयो ।