गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २३ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचार विभिन्न अस्पतालमा जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग जेनजी आन्दोलनका क्रममा देशभर दुई हजार ३९६ जना घाइते भएको तथ्याङ्क छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबैभन्दा धेरै ११ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी दिनुभयो । डा. बुढाथोकीका अनुसार त्रिवि शिक्षण अस्पतालमा पाँच जना, काठमाडौँ मेडिकल कलेजमा तीन जना, बी एन्ड बी हस्पिटल ग्वार्कोमा तीन जनाको उपचार भइरहेको छ ।
यसै गरी सिभिल अस्पताल एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक, नेपाल प्रहरी अस्पतालमा एक, कीर्तिपुर अस्पतालमा एक, धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एक, विराट मेडिकल कलेज विराटनगरमा एक, नोबेल मेडिकल कलेजमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा एक जना घाइतेको उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले घाइतेको उपचारमा कुनै कमी हुन नदिएको दाबी गर्नुभयो । उहाँले औषधी, उपचारलगायत शल्यक्रियाका सामग्रीसमेत सरकारले बेहोरेको जानकारी दिँदै कुनै औषधी तथा सामग्री अस्पतालसँग नभएको अवस्थामा बिरामीले व्यवस्था गर्ने गरेको बताउनुभयो । उहाँले सङ्घीय १६ अस्पतालबाट जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिँदै जेनजी क्लिनिकमा उपचारका लागि आउने घाइतेको उपचार निःशुल्क गरिएको स्पष्ट पार्नुभयो । डा. देवकोटाले अस्पतालमा आएर उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ४९ जना रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले पटक पटक शल्यक्रिया गर्नुपर्ने र जटिल अवस्थाका घाइतेको अझै उपचार जारी रहेको जानकारी दिनुभयो ।