रातिको दुई बजेर बिस मनेट गइसक्यो निन्द्रा पटक्कै लागेकै होइन । आजभोलि मेरा प्रत्येक रात नै अनिदो बित्ने गरेका छन् । खै निन्द्रा किन आँखासँग वैरी साँधिरहेको छ, केही बुझ्नै सक्दिनँ । भोलि घट्ने घटनाको कल्पनाले म अहिलेदेखि नै कहालिरहेकी छु । मान्छेले मान्छेलाई नै प्रदर्शन ठान्न र आफन्तले आफ्नै मान्छेलाई प्रदर्शनको चिज–बस्तु ठानेर प्रदर्शन गराउन किन मजा मान्छन्, अनौठो नै लाग्छ । मान्छे पनि यहाँ रमिते बन्दोरहेछ र म पनि वर्तमानमा एउटा रमिताको साधन बनेको छु । मान्छे आउँछन्, हेर्छन्, रमाउँछन् अनि फकिन्छन् पनि र बाँकी रहन्छ हात लागि शून्य । शून्य पनि नभनौँ, शून्य नै त कहाँ रहन्छ ? एउटा ठुलो चर्चा चलिहाल्छ नि । हामीलाई यस्तै हुन्छ भन्ने थाहा नै थियो नि भन्दै एकथरि भविष्यज्ञाता बन्ने हुन्छन्, अर्कोथरि सबै कुरा थाहा भएपछि फेरि यहाँ किन हेर्न आउनु नि । त्यसै समाजलाई मात्र हँसाउन भनी चित्त दुःखाउनेहरू पनि कम निस्किँदैनन् र अन्तर मनले भन्दा पनि आडम्बरले नै सबै मलाई धैर्य बनाउन आए झैँ आउँछन् । सान्त्वना दिएर जाने छन् । अनि त्यस वर्तमानको त्यो विवाद अर्को वर्तमान सिर्जना नभएसम्मका लागि समाप्त हुने छ ।
घडी हेर्छु, तीन बजेर बाह्र मिनेट गइसकेछ । म ज्यादै थकित भइसकेँ छटपटाएर पल्टिँदा पल्टिँंदै बिहान हुन अब धेरै समय छैन । के गर्ने ? सक्ने भए म सृष्टिचव्रm नै रोकेर पनि बिहानीलाई कहिल्यै आउनै दिन्नथेँ तर म को हुँ र ? बिहानी त आई नै हाल्छ र मैले मुटुलाई अर्को काँडा भोग्न तार गर्नै पर्छ । अब केही क्षणम घरमा चलपहल सुरु हुने छ । आँगन सफा गर्ने, बैठकमा नयाँ पर्दा फेर्ने, भुइँ पुछपाछ गर्ने, बास्नादार स्प्रे छर्किने र आफ्ना बाहिरी सम्पन्नता देखाउने चहल पहल । यसका साथै बुवाको आदेश पनि आउने छ– छोरीलाई नुवाइधोवाइ गरेर तयार हुनु भन्नु । शृङ्गारका लागि मैले सपना ब्युटी पार्लरकी सपनालाई बोलाएको छु, छिटो तयार हो भन्नु । त्यसपछि विस्तारै मेरो शृङ्गारको व्रmम सुरु हुने छ । खै के लगाइदिन्छन् ब्युटिसियनहरू ? गन्धले पनि टाउको नै दुख्छ । कहिल्यै नलगाएका लेपहरू मुखमा दलिदिन्छन् । ताता र घुमाउने स्टिले छडीहरू कपालमा छुवाएर यतै कपाल घुमार्छन्, उतै घुमार्छन् । बोल्दै पनि गालाका छाला तन्के जस्तै हुन्छ, हाँस्दा पनि ओठ भारी भए झैँ हुन्छ र अन्त्यमा आपूmलाई ऐनामा हेर्दा यो म नै हुँ कि मैले चिनेकी कुनै मान्छे हो भन्नेमा नै शङ्का लाग्छ तर जति शृङ्गार गरे पनि मेरो बायाँ निधारदेखि बायाँ आँखालाई छुँदै कानसम्म आइपुगेको यो ग्रहण भने छोपिँदैन । हो म ढाँट्दिन, मेरो निधारका बायाँपट्टि एउटा ठुलो कालो दाग छ, जुन दाग मेरा आँखामाथि हुँदै बायाँ कानसम्म नै पुगेको छ । भन्ने हो भने मेरो मुहार देब्रेपट्टि ग्रहणले छोएको खण्डग्रास चन्द्र झैँ देखिन्छ । कालो भएको भए पनि वा गहुँ गोरी नै भएकी भए पनि सो दाग त्यति तड्कारो हुने थिएन होला । दुर्भाग्य, म मोरी फेरि गोरी छु, सर्वाङ्ग दुध र केही सिन्दुर मिसिएर बनेका झैँ छन् मेरा छाला पनि । कपाल पनि काला छन् र लामा छन् । उचाइमा पनि म पाँच फिट ६ इन्चकी छु । तर मेरो मुखको ग्रहणले म कतै बिक्नै सकेकी छैन र परिवारकै लागि पनि एउटा अदृश्य ठुलो बोझ बनेकी छु ।
म हिसाबकी शिक्षिका प्रत्येक दिन स्कुल जानै पर्छ । तर प्रत्येक दिन स्कुल जाँदा जब म बसमा चड्ने गर्छु मैले आफ्नो मुखलाई देब्रेपट्टि आधा छेकिने गरी टाउको पछ्यौरीले ढाकेकी हुन्छु । गर्मीको बेलामा केटी मान्छे संवेदनशील अङ्ग मात्र छोपिने गरी हिँडेको देख्नेहरू मलाई पछ्यौराले टाउको छोपर हिँडेको देख्दा फर्की फर्की हेर्ने गर्छन् अर्काे ग्रहको मान्छे झैँ । तर मेरो यो रूपले मेरो नोकरीमा कुनै प्रभाव भने पारेको छैन । एमविए प्रथम श्रेणीमा पास गरी दुई बर्से बिएडसमेत गरेकी म स्कुलमा योग्य एवं दक्ष शिक्षिकाका रूपमा दर्जरहेकी छु । मेरो रूपलाई लिएर आजसम्म स्कुलमा कहिल्यै कुनै प्रश्न उठेको छैन, चर्चा चलेको छैन । कक्षा आठदेखि दससम्मका विद्यार्थीलाई पढाउँदा न त केटा, न त केटी कुनै छात्र छात्राले पनि मेरो रूपलाई मूल्याङ्कन गर्दै मेरो पढाउने सिपलाई लिएर नराम्रो पठाउने शिक्षिका भनेका छैनन् । बरु गर्व लाग्छ मिसले जति राम्रो पढाउने यो स्कुलमा अरू कोही मिस, सरहरू पनि छैनन् भन्छन् भन्ने सुन्दा । योग्यतामा प्रश्न नउठे पनि मेरो अस्तित्व समाजको आँखामा भने बोझै बनेको छ ।
स्कुलकै प्रसङ्ग चल्दा एकचोटि साइन्स पठाउने मिसले मसँग नरिसाउन अनुरोध गर्दै भन्नु भएको थियो कि अचेल प्लास्टिक सर्जरीबाट यस्ता दाग सजिलै हटाउन सकिन्छ । तपाईं पनि एकचोटि सर्जनसँग सल्लाह गर्न पो जाने हो कि ? सुनेकी त मैले पनि हो प्लास्टिक सर्जरीको बारेमा तर के हो ? ग्यारेन्टी हुन्छ कि हुँदैन ? कति रकम पर्छ र कति समय लाग्छ भन्ने मलाई पनि कुनै ज्ञान थिएन । एक दुई जना अन्य अन्तरङ्ग मित्रहरूसँग सोधंँ तर प्रायः सबै अनविज्ञ नै निस्किए विस्तृत जानकारी दिन । यो नै कुराको आधारमा मैले एक दिन बुवालाई भनेकी थिएँ । एकचोटि अनुहारमा प्लास्टिक सर्जरी गराई हेर्ने हो कि ? बुवाले तुरुन्तै जवाफ दिनुभएको थियो कि उहाँले पनि यसको बारेमा हल्ला सुन्नु भएको थियो रे तर त्यसो गर्नाले जिन्दगीभरि नै समस्या हुन्छे रे । पटक पटक प्लास्टिक फेरिरहनु पर्छ रे । फेरि पैसा पनि उपद्रो खर्च पो हुन्छ रे । मैले उहाँको कुरा गराइबाट बुझेँ कि उहाँले प्लास्टिक सर्जरी भनेको त अनुहारमा प्लास्टिक टाँसेर सिउने भन्ने पो बुझ्नु भएको रहेछ, झुत्रो भए कि फेर्ने । कम लेखे पढेको व्यापारी बुवाले यस्ता बुझ्नु स्वाभाविक नै लाग्यो मलाई पनि किनकि पढे लेखेको भन्नेलाई पनि यसबारे आफ्नो क्षेत्र नपरेको हुँदा राम्रो ज्ञान थिएन । एक त आफूसँग पर्याप्त रकम नहुनु र घरबाट पनि बुवाआमालगायतका परिवारको प्लास्टिक सर्जरीप्रति त्यति सकारात्मक भावना नहुनुले मैले यो विषयलाई त्यतिकै छोडिदिएकी थिएँ । सर्जन कहाँ पनि गइनँ बुझ्नलाई ।
मान्छे भएपछि बुझ्नै पर्ने हो नि मान्छेले कि ऊभित्र जस्तै अरूभित्र पनि एउटा मन हुन्छ । मनले त सानो सानो सुख, सानो सानो दुःख पनि गरिहोसम्म महसुस गर्छ । यो कुराको राम्ररी नै महसुस त असीमले गरेको थियो । मलाई अझै पनि असीमको याद आउँदा मनभित्र केही चस्स बिझाए झैँ हुन्छ । असीम म एमविए पढ्दा मेरै कक्षाको सहपाठी थियो । त्यस समयमा ऊ मेरो ज्यादै नै मिल्ने साथी बनेको थियो । कलेजका कुनै केटा वा केटीले मेरो रूपलाई लिएर कुनै टीकाटिप्पणी गरेमा ऊ त्यसको प्रतिकार गर्न अघि सथ्र्यो, मैले नै उसलाई रोक्न अगाडि बढ्नु पथ्र्यो । प्रतिवाद गर्दा ऊ सधैँ भन्ने गथ्र्यो कि शालिग्राम पनि कालो हुन्छ, कालो भएकै कारणले मात्र हेलाँ गर्ने हो भने शालिग्रामलाई सडकमा फालिदिए भइहाल्यो नि । नियालेर हेर्ने हो भने पूर्णिमाको चन्द्रमामा पनि दागहरू देखिन्छन् । मान्छे किन सुन्दरताको चर्चा गर्दा चन्द्र झैँ राम्री भनेर भन्छन् ? मान्छेको सुन्दरता रूप र रङले निर्धारण कहिल्यै गर्दैन, मनको राम्रो मान्छे नै सुन्दर संसारको यथार्थ हो । शरीर रूपी मन्दिरमा सुन्दर मन नै वास्तविक ईश्वर हो र मनका कुरूपताले बाह्य सुन्दरतालाई पनि कुरूप नै बनाउँछ । म उसलाई अरूसामु मेरा लागि यस्ता विवाद गर्न पनि दिन्नथेँ र यस्ता साहित्यक कुरा पढेर व्यवहारमा लागु नहुने तर्क सुनेर वाक्क भइसकेकी हुँदा म यस्ता कुरा नै सुन्न चाहन्नथेँ । मान्छे जति थिचियो मान्छेहरू उति नै थिच्दै जान्छन्, त्यसैले मान्छे कागती झैँ विवश बन्न मिल्दैन, काटिने, थिचिने र निचोरिने मान्छेको नियति नै होइन । मेरा लागि उसले ढाल बनेर सधैँ अरूको प्रतिरोध गरिरहँदा उसको र मेरो नाम जोडेर कलेजमा धेरै काल्पनिक कथाहरू पैmलाइए । कुरा बिस्तारै बुवाआमाको कानमा पनि पुग्यो र कलेजभन्दा घरमा बढी रडाको जन्मियो । ए ! यो हिन्दु भएर मुसलामान केटासँग लभ गर्दै हिँड्ने । जात, धर्म, संस्कृतिसमेत भिन्न भएको, हाम्रो हिन्दु धर्म तथा संस्कारले समेत स्वीकार्न नसक्ने जातिलाई यो केटीले कुन आँट गरेर लभ गरेकी हो कुन्नि, यो त कुजातकी रहिछ, के कुकर्म गरेछौँ पूर्वजन्ममा र यस्तो कुरा सुन्नुप¥यो भन्ने जस्ता यावत् श्रापित शब्द मेरा लागि घरमा गुञ्जयमान हुन थाले । मलाई कलेज जानै नदिने, पढाइमा पूर्णविराम लाउने निर्णयमा नै पुग्यो घर र केही उपाय नपाएपछि मैले पनि पढ्न नपाएमा आत्महत्या गर्ने निर्णय गरेको बेहोरा साथीभाइमार्फत बाआमालाई सुनाउन लगाएँ । र, अन्त्यमा बुवाले मेरो हात आफ्नो टाउकोमा राख्न लगाई असीमसँगको सम्बन्धलाई पूर्णविराम दिन्छु भन्ने कसम नै लिनुभयो र मेरो कलेज जाने बाटो फेरि खुल्यो ।
जात, संस्कार, रीतिथिति भन्ने कुरा म मान्दिनँ । मलाई यस्ता सङ्कीर्ण विचारसँग विद्रोहै गर्न मन लाग्छ तर म न योगमाया झैँ व्रmान्तिकारी भई सामूहिक नेतृत्व लिन सक्थेँ । न जन्मदातासँग नै विद्रोह गर्न सक्थेँ । अझ सबभन्दा ठुलो कुरा त मेरो रूपले नै मलाई प्रेम जालमा परेर पढाइ अधुरो पार्न दिँदैन थियो । मैले तत्कालका सारा परिस्थिति असीमलाई बताइदिएँ र उबाटै यसको समाधान पनि मागेँ । त्यसबेला ऊ निकैबेर घोरियो र “अहिले हाम्रो सम्बन्ध मनमा जे भए पनि सार्वजनिक रूपमा अब त्यसको आभासै अरूलाई नदिऊँ । हामी दुवै अपरिचित झैँ बनौँ । मेरो त घरपरिवार सम्पन्न छ, काफी जग्गा जमिन छ गाउँमा, मैले पढ्नै नसके पनि मलाई त्यसले त्यति असर गर्दैन । तर तिमीले पढ्नै पर्छ, सम्पत्ति भए पनि त्यसमा तिम्रो विवाहपछि अंश हक लाग्दैन । श्रीमान् कस्ता पर्छन् त्यो भोलि थाहा हुने कुरा हो । म नै परेँ भने पनि मेरो समाजमा पनि तिम्रो जात बाधा नबन्ला भन्ने छैन र बाधा बने पनि पढ्यौ भने पढाइले केही हदसम्म तिमीलाई सहयोग गर्ने छ ।” यस्तै उसका तर्कहरूले गर्दा नै मैले आफ्नो ध्यान पढाइमा नै केन्द्रित गर्दै लगेँ तर मैले बुझेको थिएँ कि त्यो दिनदेखि ऊ ज्यादै उदास उदास, निराश निराश देखिएको थियो । यसले मसँगको जुन सामीप्य राखेको थियो बिस्तारै कम गर्दै लग्यो । उसको कलेज आगमन बिस्तारै कम हुँदै गयो र अन्ततः उसले पढाइ र कलेज नै छोडिदिएको हल्ला चल्यो । मोबाइल उठेन, कोठामा नै पनि गएँ । कोठा छोडिसकेको पाएँ । ऊ कता हरायो कता ? मलाई आफैँप्रति ग्लानि हुन्छ कि मेरै कारण ऊ डिप्रेसनमा गयो र यसको पूर्णतः उत्तरदायी म नै हुँ ।
अचानक आमाको आगमनले मेरा अतीतमा बितेका कुरा, भोगेका पहिलका घटनाको निन्द्राबाट जगाइदियो । आज पनि एक प्रकारको चमक थियो आमाको अनुहारमा । प्रत्येक दिन, जुन दिन मलाई हेर्न केटाहरू आउने चर्चा चल्थ्यो ती प्रत्येक दिनमा आमाको अनुहारमा यस्तै एउटा अदृश्य चम्काइ आउने गथ्र्याे, जुन आजसम्म सधैँ क्षणिक नै साबित भएका थिए । सायद मान्छे आशामा नै बाँचेको हुन्छ, आशा मरेको मान्छे बाँच्न त बाँच्ला तर निराश जिन्दगी मात्र बाँच्ला । हो मेरा झैँ निराश जिन्दगी । जवानी त ममा पनि आएको छ नि । फिल्म, पत्रिका मैले पनि भेट्दाखेरि हेर्ने गरेको छु, विवाहित साथीहरूको चुरीफूरी मैले पनि देख्ने गरेकै छु । मभित्र पनि त कसैको अँगालोको चाहना जाग्दो होला, म्वाईको रहर लाग्दो होला, बैँसका जे जति पाटा छन्, सबैसँग परिचित हुने रहर होला तर म कसैको आँखाका पसलहरूमा पनि नबिकेकी केटी रहर मार्न शिवाय मसँग अरू के नै उपाय छ र ? अहिलेलाई एउटै मात्र विकल्प छ कि कल्पना गरेर कल्पिनु या आँखा भिजाएर शान्त हुनु ।
मैले केही पनि सजिने तयारी नगरेको देखेर आमा सिराउनुभयो र भन्नुभयो कि हामी परिवारभन्दा बढी हतारिनु पर्ने तँ, के अलमस्त बसिरहेको, र मेरो पाखुरा समाउँदै लगेर नुवाउने कोठाको ढोकाभित्र छिराइदिनुभयो र फतफताउँदै हिँड्नुभयो । मैले मन नलागे पनि नुहाएँ । कोठाबाट बाहिर निस्केको मात्र थिएँ । ब्युटिसियन दिदी आइसक्नुभएको रहेछ र, फेरि सुरु यो सिँगारपटारका शृङ्खला । म मूर्तिवत् बसिरहेँ । एउटा खेलौना झैँ म शृङ्गारका व्रmममा खेलाइँदै गए र करिब डेढ घण्टापछि मेरो शृङ्गार सकिएको घोषणा गरियो । रातभर अनिद्रत मैले ऐनमा आफूलाई हेर्न पनि रुचाइनँ । इच्छा त लागेको थियो कि सम्पूर्ण शृङ्गार मेटेर, कपाल भुत्ल्याएर एकदम चण्डीको रूप धारणा गरी बसुँ तर आँट कहाँबाट आउनु
र ? अहिले बिहानको घडीमा दस बजेर पैँतिस मिनेट जाँदा केटा खलक हेर्न आउने खबर पनि आइपुग्यो । आमा आउनु भयो, काकाका छोराछोरी सबै आए । सबै रमाएका देखिन्थे मानौँ कुनै उत्सव नै हेर्न जाँदै छन् । त्यतिकैमा बुवा ढोकामा आएर उभिनुभयो र आमालाई छोरीलाई लिएर आइज भनी इसारा गर्दै तुरुन्तै फर्किनु भयो । म अनिच्छित् आमाका साथ लागेर बैठक कोठामा गएँ र छेउको सोफामा बसिदिएँ । कसले के के हेरे, कस्तो देखे भन्नेपट्टि मलाई कुनै रहर नै नहुँदा मैले आँँखा भुइँतिर नै लगाइरहेँ । न त कसैले केही सोध्यो न त मैले नै बोल्ने कुरा थियो । करिब दस मिनेटपछि मलाई बाहिर डो¥याउनुभयो आमाले र मैले बाहिर निस्किएर लामो स्वास फेरेँ । कहाँ गएँ, के गरेँ, के भनेँ वा भनिनँ भन्ने कुरा नै सपना जस्तै भयो । अहिले पनि मेरो दिमाग शून्य प्रायः नै छ । अब मेरो मूल्याङ्कन कस्तो हुने हो, के जवाफ आउने हो भन्ने कौतूहल भने मभित्र जागेकै छैन । पहिले पनि यसरी नै तीन पटक म सिँगारिएर तीन जना केटाको परिवारको अगाडि पुगिसकेकी केटी हुँ र प्रत्येक पटकको इन्कारी पछि म फेरि सजावट बनी सजिन बाध्य भएकै हुँ । सोच्दै छु, मैले अब पनि अझै कति चोटि यसरी नै सिँगारिएर प्रदर्शन हुनुपर्ने हो । मेरा आँखा कोठामा रहेको म अगाडिको ऐनामा नचाहेरै पनि पुगिरहेको छ र त्यहाँ देख्दै छु, एउटा चन्द्रमा निराश अनुहार लिएर बसिरहेको छ र एउटा ग्रहण उसको अनुहारमा सदा झैँ मुस्काइरहेको छ, मानौँ आज पनि उसले जितेको छ ।