• २३ असोज २०८२, बिहिबार

महेश बस्नेतसँग प्रहरीले लियो बयान

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ ।साइबर अपराधको कसुरमा बस्नेतमाथि उजुरी परेपछि ब्युरोले बस्नेतलाई भोटाहिटीस्थित कार्यालयमा बोलाएर लिखित बयान लिएको हो । ब्युरोका प्रहरी उपरीक्षक दीपक अवस्थीले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरिएको भनी हुलाकमार्फत बस्नेतविरुद्ध उजुरी परेपछि आवश्यक सोधपुछ गरिएको जानकारी दिनुभयो । 

बस्नेतविरुद्ध सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित शोभा पाठकले हुलाकमार्फत यसअघि पठाएको उजुरीमा नाम किटान नगरिएको र अमूर्त शब्दावली प्रयोग गरिएको पाइएपछि ब्युरोले उक्त उजुरी तामेलीमा राखेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले तामेलीमा राखिएको बस्नेतविरुद्धको उजुरीमा आवश्यक अनुसन्धान गरी प्रतिवेदन बुझाउन ब्युरोलाई निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार ब्युरोले बस्नेतसँग बयान लिएको हो । लिखित बयानमा बस्नेतले आफूमाथिका सबै आरोप खण्डनसहित इन्कारी बयान दिएको ब्युरो स्रोतले जानकारी दिएको छ ।

एमाले अदालतमा जाने 

यसैबिच एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गर्न खोजेको भन्दै पक्रिन चुनौतीसमेत दिनुभएको छ । एमाले संसद् पुनस्र्थापनाको माग लिएर अदालत जाने पनि उहाँले बताउनुभएको छ । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाले संसद् पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउन जाने बताउनुभयो ।