भैरहवा समाचारदाता
भैरहवा, असोज २३ गते । बुद्ध धर्मावलम्बी भिक्षुको तीनमहिने वर्षाबास सम्पन्न भएको छ । बुद्धकालीन समयदेखि निरन्तर चलिआएको यो परम्परा अनुसार भिक्षुहरू वर्षा ऋतुको तीन महिनासम्म एकै स्थानमा रहँदै ध्यान, साधना र देशनामा समय बिताउँछन् । यस अवधिमा उनीहरू विहार वा मोनास्ट्रीमै बस्दै धार्मिक अनुशासनको अभ्यास गर्छन् ।
यस वर्ष लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा रहेका भिक्षुले वर्षाबास पूरा गरेका छन् । तीन जिल्लाका पाँच प्रमुख स्थलमा बसेका भिक्षुको तीन महिनाको ध्यान र साधना अवधि असोज पूर्णिमासँगै समाप्त भएको हो ।
बौद्ध धर्मका अनुसार विनय कर्म पालन गर्दा अन्जानमा भएका त्रुटिबाट मुक्ति पाउन र आत्मशुद्धिका लागि भिक्षुभिक्षुणीले वर्षाबास बस्ने परम्परा छ । वर्षाबासको समयमा उनीहरूले बिहानसाँझ ध्यान र परित्राण पाठ गर्छन् । यसै क्रममा बुद्ध धर्म र सङ्घको गुणगान गर्दै धर्मदेशना र पूजाआजा गरिन्छ ।
यस वर्ष वर्षाबासका लागि थाइल्यान्डबाट २२ जना भिक्षु नेपाल आएका थिए । उनीहरू लुम्बिनीस्थित रोयल थाई विहार र शाक्यमुनि विहारमा बसेका थिए । त्यस्तै म्यान्मार गोल्डेन टेम्पल, श्रीलङ्का महाविहार र महाबोधी सोसाइटीमा समेत भिक्षुले वर्षाबास गरेका थिए ।
कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम र महावनसहित पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यान्मार र श्रीलङ्काका गरी ४० जना भिक्षुले विभिन्न विहारमा वर्षाबास बसेका थिए ।