गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २३ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटाएको छ । योसँगै बैङ्कले व्यक्तिलाई दिन पाउने २५ करोडको सेयर कर्जा सीमा हटेको छ । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले यसअघि दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैङ्कले यस्तो निर्देशन जारी गरेको हो । यसै गरी बैङ्कहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ ।
बैङ्कले सेयर खरिद गरेको वर्ष दिन व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।