• २३ असोज २०८२, बिहिबार

आफ्नै पैसा पाउन हैरानी

blog

टीकापुर समाचारदाता

टीकापुर, असोज २३ गते । नियमित कमाइ नहुनेहरू आफूसँग भएको सानो पुँजी ब्याज पाउने लोभमा सापटी दिने तर फिर्ता पाउन नसकेर पीडित हुने गरेका छन् । टीकापुर नगरपालिका–१ का एक जना ज्येष्ठ नागरिक भक्तराज (नाम परिवर्तन) यस्तै पीडामा हुनुहुन्छ । “आफ्नो नियमित कमाइ छैन छोरीले मेरो साथीलाई खर्च चाहिएको छ अलि अलि ब्याज पनि दिन्छु भनेको छ भनेपछि १० लाख रुपियाँ दिएँ,” ७० वर्षका भक्तराज भन्नुहुन्छ, “१० वर्ष भयो पैसा फिर्ता दिने चाल गर्दैन आफू जागिरे छ, छोरा विदेश पठाएको छ तर पैसा दिँदैन अब त आफ्नै पैसा दिएर आफैँ लज्जित हुनुपर्ने अवस्था भयो ।”

टीकापुरकै माया बिसी (नाम परिवर्तन) लाई छोराछोरी पढाउन खर्च नभएपछि घर नै बेच्नु प¥यो । “आधा पैसाले केटाकेटी पढाउँला, आधा पैसाले बैङ्कमा राखेर गुजारा चलाउँला भनेर घर बेचेँ,” बिसी भन्नुहुन्छ, “आफन्तले नै बैङ्कको भन्दा बढी ब्याज दिन्छु मलाई सापटी देऊ भनेपछि लोभिएर दिएँ, अहिले पैसा लिने काठमाडौँ गइसके म घरकी न घाटकी भएकी छु ।”

जानकी गाउँपालिका अमरावतीकी भविसरा विक पनि त्यस्तै पात्र हुन् जसले सापटी दिएर तड्पी रहनुभएको छ । भविसराले २०६९ भदौ मा एक लाख रुपियाँ टीकापुरकी ईश्वरी विश्वकर्मालाई दिनुभएको थियो । ब्याजबापत वर्षामा धान र हिउँदमा गहुँ दिने गरी मालपोत कार्यालयको प्राङ्गणमा बनाएको तमसुकले यही भन्छ ।

“दुई वर्षसम्म कहिले एक हजार कहिले दुई हजार गरेर ब्याज दिइन् त्यसपछि दिइनन् । ब्याज रोकिएपछि खोजीनीति गर्दा मलाई अभाव छ होटेल खोल्छु एक लाख सापटी खोजी दिन भनिन्,” भविसराले भन्नुभयो, “नाताले फूपूको छोरी पर्ने ईश्वरीलाई समस्या टारौँ भनेर छोरी मधु विश्वकर्माको नामबाट एउटा लघुवित्तबाट थप एक लाख ऋण निकालेर दिएँ सुरु सुरुमा ब्याज तिरिन् तर पछि घर बेचेरै विदेश गएकी छन् अहिले ऋण तिर्नु त परैको कुरा सम्बन्धनै बिग्रियो ।” 

भविसराले इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गरेपछि ईश्वरीका श्रीमान्ले २०८० पुसमा ५० हजार त दिनुभयो त्यसपछि भविसरा र ईश्वरीका श्रीमान्को सम्बन्ध पनि बिग्रियो । बेला बेला भारत गएर कमाउँदै ऋण तिर्दै गरेकी भविसरा ईश्वरी विदेशबाट फर्किने दिनको प्रतिक्षामा हुनुहुन्छ । टीकापुरमा यसरी आफन्तबाटै पैसा लिएर नदिने समस्या प्रशस्तै छ । “घरायसी तमसुक बनाएर लेनदेन गरेका मानिस गुनासो लिएर हरेक महिना दुई/तीन जना वडा कार्यालय आउने गरेका छन्,” वडाध्यक्ष मोहन विक भन्नुहुन्छ, “वडाले छलफल गराउँदा दुवै पक्ष आउनुपर्ने हुन्छ तर लिने मानिस आउँदैनन् इमानदारिता छैन ।”