• ८ मंसिर २०८१, शनिबार

ग्याल्पो लोसारको अवसरमा र्‍याली

blog

२१५०औं क्ष्यू मो ह्यो लो (खरायो वर्ष) ग्याल्पो लोसारको तेश्रो दिनको अवसरमा निकालिएको र्‍याली । तस्बिर सौजन्यः पासाङ् शेर्पा

काठमाडौँ, फागुन ११ गते । ग्याल्पो लोसारको अवसरमा शेर्पा समुदायको संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सांस्कृतिक र्‍याली निकालेको छ । महायान बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा मुख्य चाड ग्याल्पो लोसार क्ष्यू मो ह्यो (खरायो) वर्षको अवसरमा तेस्रो दिन (बिहीबार) बौद्धदेखि र्‍याली निकालेको हो । 

२१५०औँ क्ष्यू मो ह्यो लो (खरायो वर्ष) ग्याल्पो लोसारको तेस्रो दिन अर्थात् (छेवा सुम)का दिन बिहीबार बौद्धस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा धर्मगुरु क्याप्जेक जटुल्ल रिम्पोक्षेको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको केन्द्रका महासचिव आङ काजी शेर्पाले जानकारी दिनुभयो ।

र्‍याली शेर्पा गुम्बाबाट सुरु भएर टुसाल, चाबहिलस्थित चारुमती विहारको परिक्रमा गरी पुनः महांकाल, तीनचुली हुँदै बौद्ध स्तुपको परिक्रमा गर्दै शेर्पा गुम्बा बौद्धमा पुगेको छ । र्‍यालीपछि ल्हप्सोमा पुगी लामाहरूबाट शेर्पा समुदायको धार्मिक विधि अनुरूप पाठपूजा गरिने बताउनुभयो ।


कार्यक्रममा प्रमुख लामा क्याप्जेक जटुल्ल रिम्पोक्षेबाट पासाङ ल्हामु विद्या पुरस्कार र स्व. डोल्कर छिरिङ आमा स्मृति स्टाफ नर्स छात्रवृत्ति पुरस्कार वितरण गरिने महासचिव शेर्पाले बताउनुभयो । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै लामा छ्याम (लामा नृत्य) तथा विभिन्न किदुगहरुबाट श्याब्रु नृत्य प्रस्तुति रहने जनाएको छ । 

ल्हप्सो के हो र के गरिन्छ ?

‘ल्ह’ भन्नाले देउता र ‘सो’ भन्नाले चढाउनु भन्ने बुझिन्छ । त्यसैले ‘ल्हप्सो‘ को शाब्दिक अर्थ देउतालाई चढाउनु वा पूजा गर्नुहुन्छ ।

गाउँघरमा सबै एकै ठाउँमा भेला भएर यो वर्षभरि गाउँमा नराम्रो नहोस् भनेर कुल देउताको पुजा गर्नुका साथै शान्तिको कामना गरिन्छ । काठमाडौँ उपत्यकामा रहेका शेर्पाहरू शेर्पा सेवा केन्द्र बौद्धमा आयोजना हुने ल्हप्सो पूजामा भेला हुन्छन् । यसका लागि २ महिना अगाडिदेखि पाँच जनाको समूहमा अघिल्लो वर्ष गठन गरिएको आयोजक समितिले काठमाडौँमा रहेका प्रत्येक शेर्पाहरूको घरघरमा गई लोसारको निमन्त्रणा कार्ड वितरण गर्ने र आफ्नो गच्छे अनुसार ल्हप्सो पूजाको लागि दिएको आर्थिक सहयोग सङ्कलन गर्ने गरिन्छ ।

यसरी उठाएको पैसाबाट ल्हप्सो पूजामा आउने सबैका लागि चिया, डेसिल, खप्से, छ्याङ आदिको व्यवस्था गरिन्छ ।