• २३ चैत २०८२, सोमबार

युएस ओपन करातेमा सन्तोषलाई कांस्य

blog

काठमाडौँ, चैत २३ गते । नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जित्नुभएको छ । 

टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ कांस्य पदक जित्नुभएको हो । यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्फत पदक सुरक्षित गर्नुभयो । 

रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाउनुभयो । त्यसअघि पहिलो खेलमा अमेरिकाकै भियारो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु गर्नुभएको थियो । उहाँले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गर्नुभयो । 

तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुनुभयो । यससँगै उहाँको फाइनल खेल्ने सपना पूरा हुन सकेन । तर, रिपेचाजबाट उहाँ पदक जित्न सफल हुनुभयो । 

सन्तोषले फाइटमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । फाइटतर्फ उहाँले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त भएन । प्रशिक्षक सुनिल लामाले सन्तोषले उत्कृष्ट प्रदर्शन गरेको र अन्तिम समयमा समालिन नसक्दा अर्को पदकबाट चुकेको बताउनुभयो ।